संरक्षण अभावमा अतिक्रमणको संघारमा धनपालगढी

0

 उत्तम पोख्रेल
बेलबारी, पुस २३
मोरङको कसेनीमा रहेको पर्यटकीयस्थल धनपालगढी संरक्षणको अभावमा अतिक्रमणको मारमा परेको छ । सम्बन्धित निकायले ध्यान नदिँदा यसको अवस्था दयनीय बन्न पुगेको हो । गढीको नाममा रहेको ३५ बिघा जग्गामध्ये ६ बिघा हाल स्थानीयको नियन्त्रणमा रहेको छ ।

गौचरनमा परिणत भएको पर्यटकीय महत्वको यो क्षेत्र अहिले पर्खाइमा रहेको छ । धनपाल राजाको दरबार रहेको स्थानका रूपमा लिइएको धनपालगढीको विकासका लागि केही बजेट आएपनि त्यसले पोखरी सफा गर्ने र तारको घेराबारा गर्नेबाहेक अन्य काम हुन सकको छैन । पर्यटन कार्यालय काकडभिट्टाले सात लाख रुपैयाँ, जिल्ला वन कार्यालय मोरङले ४ लाख रुपैयाँ  तथा जिल्ला बिकास समितिले २ लाख रुपैयाँ यसको प्रवर्द्धनका लागि दिएका थिए ।

सातवटा पोखरी रहेको उक्त क्षेत्रमा अहिले तीनवटा मात्र पोखरी रहेका छन् ।अन्य चारवटा पोखरी भने जीर्ण अवस्थामा छन् । वैशाखमा यहाँ ठुलो मेला लाग्ने गरेपनि संरक्षणको अभावमा यहाँका भौतिक संरचना बिग्रंदै जान थालेका छन् । विवाह गरेका नया दुलहा-दुलहीले मेलाको बेला पोखरीको बीचमा गएर पूजाआजा गर्नुपर्ने स्थानीयको मान्यता छ ।धनपाल राजाको दरबार केही वर्षअघिसम्म रहेपनि अहिले सोको भग्नावशेषसमेत बाँकी छैन ।

धनापल राजाले पूजा गर्ने एउटा मन्दिर मात्रै अहिले यस क्षेत्रमा रहेको छ । यस गाउँका पूर्वगाविसअध्यक्ष बुद्धिविनोद गिरीले आफू गाविसअध्यक्ष हुँदा जिविसबाट आएको दुई लाख रुपैयाँको लागतमा पोखरीको सरसफाई गरेको भएपनि त्यसयता कुनै बजेट नआएको बताए । यहाँ हरेक वर्ष पिकनिक खान आउने पर्यटकको घुइँचो लाग्छ । तर, त्यसबाट आएको आम्दानी कहाँ जान्छ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । अहिले यस क्षेत्रमा धनपाल राजाको मुर्ति प्रमुख आकर्षणको रूपमा रहेको छ ।

हाल सरकारले घर बनाउँदा नक्सा पास गर्नुपर्ने नीति ल्याएको छ । यसको उद्देश्य स्थानीय तहको राजश्व संकलनमा वृद्धि ल्याउनु हो । बेलबारी-५ कसेनीमा रहेका स्थानीयले भने घर बनाउँदा नक्सा बनाएर गढीमा गई पूजाआजा गर्दै नमुना घरसमेत बनाउनुपर्छ । त्यहाँबाट यस क्षेत्रमा कति घर छन् भनेर छुट्याउन सकिन्छ । कसले कस्तो घर बनाउँदै छ भनेर घर बनिनसक्दै हेर्न सकिने गरको स्थानीय नन्दराज गीरीले बताए । मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकाल तथा ४ का सांसद अमनलाल मोदीले भने यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेलबारी नगरपालिकाभित्र रहेको धनपालगढी निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । होमस्टेदेखि आदिवासी-जनजातिको संग्रहालय निर्माण गर्नसमेत यो क्षेत्र उपयुक्त रहेको सांसद ढकालले बताए । आदीवासीको बाहुल्य रहेको धनपालगढीको संरक्षणमा नगरपरिषदबाट बजेट विनियोजन गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । गुरुयोजना नै निर्माण गरेर बेलबारीका पर्यटकीय क्षेत्रहरूको पहिचान गरी आन्तरीक तथा बाह्य  पर्यटक भित्र्याउने योजनामा नगरपालिका लागेकोसमेत उनले बताए । राजनैतिक भागबन्डाको संस्कृतिका कारण मोरङका पर्यटकीय तथा ऐतिहासिक महत्वका क्षेत्रको समुचित प्रवर्द्धनमा बाधा पुगेको छ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW