fbpx

अर्गानिक उत्पादनको बजार सन्चालनमा


धरान, पुष २२
पछिल्लो समय धरानको वसन्तटार, धनकुटाको नाम्जेलगायतका क्षेत्रहरूमा अर्गानिक खेती फस्टाउँदै गएको छ । अर्गानिक उत्पादनको बजारीकरण गर्न धरानमा शनिबारदेखि अर्ग्यानिक शनिबारे हटिया सुरु भएको छ । अर्गानिक कृषकहरूको उत्पादनलाई प्रोत्साहन गर्न सुरु भएको हटियामा ३ घण्टामै ४० हजारभन्दा बढीको कारोबार भएको छ ।

धरान उपमहानगरपालिकाको अमान बजारमा सन्चालन भएको हटियामा धरान आसपासका क्षेत्रबाट आएका अर्गानिक कृषकहरूले आफ्ना उत्पादन बिक्रि गरेका थिए । शनिबार बिहान ८ बजेदेखि ११ बजेसम्म बिक्रि-वितरण खुल्ला गरिएको हटियामा अर्गानिक उत्पादनहरूको मात्र बिक्रि-वितरण गरिएको थियो । अर्गानिक उत्पादनको बजार सन्चालन हुँदा कृषकहरू पनि अर्गानिक उत्पादन वृद्धि गर्न उत्साहित भएका छन् । हटियाको आयोजनाले अर्गानिक कृषिलाई प्रवर्द्धन गरेको अर्गानिक कृषक कृष्ण राईको भनाइ छ । उनले हटियामा ल्याएका हरियो सागसब्जी मात्रै २० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्रि भएको थियो ।

बजारको व्यवस्थापन गर्न नसक्दा रासायनिक मल प्रयोग गरेर उत्पादन भएका कृषिजन्य उत्पादनसँग अर्गानिक उत्पादनहरु बिक्रि गर्नुपर्ने बाध्यता यस हटियाका कारण हटेको राईले बताए । ‘अर्गानिक उत्पादनको बजार नहुँदा विचलित बन्दै गरेका कृषकका लागि राम्रो व्यवस्थापन भएको छ’, उनले भने, ‘अब कृषक र उपभोक्ताहरु सिधै सम्पर्कमा रहन्छन् जसले गर्दा अर्गानिक उत्पादनलाई बढवा दिन्छ ।’

हटियामा आएका उपभोक्ताको उत्साहले अर्गानिक खानेकुरामा उपभोक्ताको आकर्षण बढ्दै गएको देखिएको उनले बताए । हटियामा अर्गानिक सागसब्जी, सिस्नुको चिया, आफनै घरमा उत्पादन गरेको गुन्द्रुक, किनिमा, लप्सीको अचार, बेसार, मह, लोकल अन्डा, चकलेट, दालका परिकार, घरमै बनाइएका सुकुटीको अचार, बिग्रेट कोइलासहित १४ वटा स्टल रहेका थिए । रासायनिक मलबाट उत्पादन हुने कृषिजन्य उत्पादनलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न हटिया सन्चालनमा आएको अर्गानिक शनिबारे हटिया व्यवस्थापन समितिकी सचिव सबिता राईले बताइन् ।

हटियाको पहिलो दिन भएकाले उपभोक्ताको मागलाई थेग्न गाह्रो परेको उनको भनाइ छ । व्यक्तिगत पहलमा सुरु गरिएको बजारलाई समिति बनाएर सन्चालनमा ल्याइएको हो ।उपभोक्ताको उत्साहलाई ध्यान दिँदै साताको दुई दिन हटिया लगाउने पनि योजना रहेको समितीका अध्यक्ष काजी गिरिले बताए ।

प्रतिक्रिया

Loading...