fbpx

अत्यधिक चिसोले तराईको जनजीवन कष्टकर


उत्तम पोख्रेल
बेलबारी, पुस २२
पूर्वका जिल्लामा चिसोका कारण जनजिवन प्रभावित बनेको छ । केही दिनयता बाक्लो हुस्सुसहितको अत्यधिक चिसोले पूर्वका विभिन्न जिल्लाको जनजीवन कष्टकर बन्दै जान थालेको हो । पुस महिना सुरु भएलगत्तै बढेको चिसोका कारण पूर्वका सुनसरी , मोरङ , झापा , इलाम पाँचथर , ताप्लेजुङ , भोजपुर , धनकुटा संखुवासभा लगायतका जिल्लाहरूमा जनाजीवन प्रभावित बनेका हुन् ।

पूर्वी तराईमा शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक महिनायता११ जनाले ज्यान गुमाएका छन् । अत्यधिक जाडोका कारण सप्तरीमा ६ जनाको मृत्यु भएको छ भने सुनसरीमा एक, झापामा एक र मोरङमा ३ जनाको ज्यान गइसकेको छ । चिसोका कारण विशेषगरी गत साउनमा आएको बाढीबाट घरबारविहीन बनेका बाढीपीडित , कोशीपीडित, सुकुम्बासी बस्ती तथा मुसहर बस्तीका बासिन्दा बढी प्रभावित भएका छन् । मानिससँगै यस क्षेत्रका चौपायासमेत चिसोको चपेटामा परेका छन् ।

बाक्लो हुस्सुका कारण जाडोमा सुत्केरी महिलाहरू पनि बढी नै प्रभावित देखिएका छन् । सरकारी कार्यालयहरूमा पनि चिसोको प्रभाव परेको छ । तराईका जिल्लामा रहेका सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको संख्या घटेको छ । सडकमा यातायातका साधनहरू पनि कम चलेका छन् ।  यता, चिसोकै कारण अस्पतालहरूमा बिरामीको संख्या ह्वात्तै बढेको पाइएको छ । विशेषगरी ज्वरो , रूघाखोकी , निमोनीयाजस्ता रोगका बिरामीहरूले सामुदायिक तथा निजि अस्पतालहरू भरीभराउ देखिएका छन् ।

चिसोका कारण अस्पतालमा बिरामी नवजात शिशुहरूको संख्या पनि बढदै गएको छ । चिसोका कारण अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै दैनिक ज्याला मजदुरी गरी परिवारको गुजारा गर्नेहरू पनि प्रत्यक्ष मर्कामा परेका छन् ।

प्रतिक्रिया

Loading...