fbpx

फोहोर फालेको सूचना दिनेले पाउने भए भत्ता

मोरङ, पुस २२
विराटनगर महानगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियार गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिनेछ ।

यो नीति अख्तियार गरेपछि गाउँघरबाट सडकमा फोहोर फाल्ने प्रवृत्तिमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले फोटोसहितको सुराकी दिनेलाई प्रोत्साहनस्वरुप भत्ता दिने व्यवस्था मिलाउन लागिएको बताए । दिनप्रतिदिन बढ्दै गएको फोहरमैलाको विकराल समस्यालाई न्यूनीकरण गर्न महानगरपालिकाले पहिलो पटक यस्तो योजना ल्याउन लागेको प्रमुख पराजुलीको भनाइ छ ।

प्रोत्साहन भत्ता दिएर भएपनि शहरलाई सभ्य बनाउनुपर्ने दायित्व बढेको भन्दै पराजुलीले बोर्ड बैठक बसेर यसबारे यथासिघ्र निर्णय गर्ने प्रतिबद्धता जनाए । विराटनगर महनगर क्षेत्रमा दैनिक ९० मेट्रिक टनसम्म फोहर उत्पादन हुने गरेको छ । शहरी क्षेत्रमा उत्पादन हुने यस्ता फोहरका कारण नगर क्षेत्र दुर्गन्धित हुँदै आएको छ । विराटनगरको गुद्री, मेनरोड, देवकोटा चोक, गुद्री, बरगाछी, तिनपैनी चोकबाट निस्कने फोहर घरबाट फालिने गरेको छ ।

पटक-पटक सचेत गराउँदासमेत अटेर गरेपछि महानगरपालिकाले यस्तो कडाइ गर्न लागेको वातावरण शाखाका इञ्जिनियर घनश्याम काफ्लेले बताए। नर्सिङ होम, वित्तीय संस्थान, पसलबाट निस्कने फोहरको व्यवस्थापनमा जटिलता देखिएको इञ्जिनियर काफ्लेको भनाइ छ ।

प्रतिक्रिया

Loading...