fbpx

पेट्रोल खानीको उत्खनन गर्न स्थानीयको माग

 उत्तम पोख्रेल
बेलबारी, पुस २१
मोरङको बाहुनी- १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानी राजनीति गर्ने थलोको रूपमा विकास भएको भन्दै यसको सत्य-तथ्य विवरण सार्वजनिक गर्न स्थानीयले सांसदसँग माग गरेका छन् ।

गौचरणको रुपमा प्रयोग भइरहेको पेट्रोल खानीमा पेट्रोल भए उत्खनन गर्न र नभए त्यही जग्गामा उध्योगधन्दा चलाउनसमेत मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालसँग स्थानीयले माग गरेका हुन । पेट्रोलियम अन्वेषणका क्रममा ३५ वर्षअघि नेदरल्याण्ड सरकारको ‘सेल’ नामक कम्पनीले राधानगरमा तीन हजार पाँच सय मिटर गहिरो ड्रिल गरी १४ महिनासम्म अनुसन्धान गरेपनि अहिलेसम्म पेट्रोल निकाल्ने काम सुरु भएको छैन । पटक-पटक लाखौँ रुपैयाँ खर्चेर अन्वेषण गरेपनि पेट्रोल निकाल्न नसकिएको हो ।

स्थानीय तहदेखि प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमासमेत चुनावी एजेन्डाका रूपमा रहेको सो खानीले जनतालाई अल्मल्याइरहेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । खानीमा पेट्रोल नभए त्यही जग्गामा उध्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्ने स्थानीय रबिन थापाले बताए । पेट्रोलियम अन्वेषण सम्बन्धि चीन सरकारको ६ सदस्यीय टोलीले पेट्रोल खानीको अवलोकनसमेत गरिसकेको छ । भारतले गरेको नाकाबन्दीका बेला सुरु भएको यसबारेको बहसमा अहिले आएर नेताहरूले पनि चासो देखाएका छन् ।

नेताहरूले राजनीति गर्ने थलोको रुपमा मात्र प्रयोग नगरी यसको सत्य-तथ्य सार्वजनिक गर्नुपर्ने बताउँदै मोरङ क्षेत्र नम्बर ३का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले भने अब बन्ने नयाँ सरकारले यसको जिम्मेवारी लिनुपर्नेमा जोड दिए । ३५ वर्षअघि अन्वेषण गर्नका लागि ल्याइएका उपकरणसमेत अहिले त्यस क्षेत्रमा छैनन् । यसको अवस्थाबारे कसैलाई जानकारी छैन ।पेट्रोल खानीको हल्ला भएसँगै यसको रेखदेख गर्नका लागि एकजना कर्मचारी खटिएका छन् ।उनलाई सरकारले तलब-सुविधासहित यस क्षेत्रमा खटाएको हो ।

विभिन्न उपकरण तथा अन्य सामग्री राख्न बनाइएको टहरोसमेत जिर्ण बनेको छ । पेट्रोल खानीको करिब ६ बिघा जग्गामा तारघेरा लागेको भएपनि  पनि अहिले स्थानीयले यसलाई गौचरणका रूपमा प्रयोग गरिरहेका छन् । आफनै देशमा पेट्रोल निस्कने आशामा रहेका जनतामा अहिले निरासा छाएको छ ।

प्रतिक्रिया

Loading...