वर्षको पहिलो खेलमा रियल मड्रिडको शानदार जित, २ गोल पेनाल्टीबाट

  विराटनगर, पुस २१
स्पेनिस रियल मड्रिडले वर्षको पहिलो खेलमा शानदार जित निकालेको छ । कोपा डेल रे फुटबलमा बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियलले नुमानसियामाथि ३–० को जित निकालेको हो ।

अवे मैदानमा भएको खेलमा रियललाई जिताउन ग्यारेथ बेल, इस्को र बोर्जा मायोरलले समान १–१ गोल गरे ।

खेलको ३५औं मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्दै बेलले रियललाई अग्रता दिलाएका थिए । उनी चोटका कारण तीन महिनादेखि मैदानबाहिर रहँदै आएका थिए । लामो समयपछि मैदान फर्किएको खेलमा उनले गोल गरेका हुन् ।

त्यसपछि खेलको ६०औं मिनेटमा पेपे माली डियामान्का दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमानसिया १० खेलाडीमा सीमित भयो । दबाबमा परेको घरेलु टिममाथि ८९औं रियलले अर्को गोल हान्यो ।

दोस्रो गोल इस्कोले पेनाल्टीबाट गरेका थिए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा मायोरलले अर्को गोल थपेपछि रियलले वर्षको पहिलो खेलमा ३–० को सुखद् नतिजा निकाल्यो ।

यस खेलमा रियल स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमालाई आराम दिइएको थियो भने डिफेन्स र मिडफिल्डका अन्य प्रमुख खेलाडीलाई पनि आराम दिइएको थियो ।

प्रतिक्रिया

Loading...