मेस्सी यो समयका उत्कृष्ट खेलाडी हुन् : भाल्भर्डे

एजेन्सी, पुस १९
यसै सिजन बार्सिलोना आएका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले आफ्ना स्टार स्ट्राइकर लिओनल मेस्सीको प्रशंसा गरेका छन् । बार्सिलोनाको अफिसियल वेबसाइटसँगको विशेष कुराकानीमा भाल्भर्डेले यो सिजन उच्च लयमा रहेका आफ्ना खेलाडीको खुलेर प्रशंसा गरेका हुन् ।

उनले अन्तर्वार्ताक्रममा मेस्सी यो समयका विश्वकै उत्कृष्ट खेलाडी भएको बताए । ३० वर्षीय अर्जेन्टिनी स्टार मेस्सी यो सिजन उच्च लयमा रहेका छन् । गत डिसेम्बर २३ मा भएको सिजनको पहिलो इएल क्लासिकोमा पनि बार्सिलोनाले मेस्सीप्रेरित नतिजा निकालेको थियो ।

यसै सिजन बार्सिलोनाको नेतृत्व पाएका भाल्भर्डेको टिम यो सिजन २५ खेलमा अपराजित छ । ला लिगाकै कुरा गर्ने हो भने त बार्सिलोना इतिहासकै उच्च लयमा रहेको छ ।

‘अवश्य पनि, हामीसँग प्रतिभावान् खेलाडी छन्, त्यसमा पनि मेस्सी यो समयका एक उत्कृष्ट खेलाडी हुन्,’ भाल्भर्डेले भनेका छन्, ‘हामी उनको प्रदर्शनबाट एकदमै खुसी छौं ।’

उनले अगाडि थपेका छन्, ‘मेस्सीको जति प्रशंसा गरे पनि कमै हुन्छ, उनमा उक अद्भुत क्षमता छ, जो सबै खेलाडीमा मा हुँदैन ।’

प्रतिक्रिया

Loading...