१५ ट्रफीसहित रोनाल्डो र गर्भवती श्रीमतीसहित मेस्सीको ‘न्यु इयर पोज’ !

कोसी अनलाइन
विराटनगर, पुस १८
विश्व फुटबलका दुई ठूला हस्ती स्टार लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले फरक–फरक तरिकाले नयाँ वर्ष मनाएका छन् । दुई स्टारले नयाँ वर्ष सेलिब्रेसन गरेका आ–आफ्ना तस्बिर सार्वजनिक गरेका छन् ।

जसमा स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सीले नयाँ वर्ष परिवारसँगै रहेर मनाएका छन् । उनले एक तस्बिर सार्वजनिक गरेका छन्, जसमा मेस्सी आफ्नी गर्भवती श्रीमती एन्टोनेला रोक्युजोसँग उभिएको देख्न सकिन्छ ।

उक्त तस्बिरमा मेस्सीले एक हातमा मदिराको ग्लास बोकेका छन् भने अर्को हातले श्रीमतीलाई समाएका छन् ।

त्यसैगरी, अर्का स्टार रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले नयाँ वर्ष फरक तरिकाले सेलिब्रेसन गरेका छन् । जसमा उनले आफूले जितका ठूला १५ अवार्ड एकसाथ अगाडि राखेर फोटो सेसन गराएका छन् ।

उनको उक्त तस्बिर हेर्दा लाग्छ, उनी अवार्ड बिक्रीका लागि बसेका हुन् । तस्बिरमा उनी खुसी मुद्रामा छन् ।

रोनाल्डोले अस्ति भर्खर सन् २०१७ का लागि पाँचौंपटक बालोन डि‘ओर अवार्ड जितेका थिए । यता, मेस्सीले भने सन् २०१७ का लागि युरोपियन क्षेत्रमा सर्वाधिक गोलकर्ताको हैसियतमा गोल्डेन बुट जितेका थिए ।

मेस्सी यो सिजन पनि उच्च लयमा छन् । उनकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना २०१८ को विश्वकपमा छानिएको छ भने उनले क्लबका लागि पनि उत्तिकै राम्रो प्रदर्शन गरिरहेका छन् । यो सिजनमा मेसीले क्लबका लागि २९ खेलबाट २२ गोल गरिसकेका छन् ।

यता, क्रिस्टियानो रोनाल्डोले पनि वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । उनी युरोप क्षेत्रबाट वर्षको सर्वश्रेष्ठ खलाडीसमेत बनेका छन् । तर, यस सिजन रोनाल्डोले घरेलु लिग ला लिगामा सन्तोषजनक प्रदर्शन सकेका छैनन् ।

प्रतिक्रिया

Loading...