खेल जीवनपछि फिल्म खेल्ने रोनाल्डोको चाहना

एजेन्सी, पुस १६
सन् २०१७ का लागि तथा समग्रमा पाँचौंपटक बालोन डि‘ओर अवार्ड जितेका स्पेनिस रियल मड्रिडका सुपरस्टार क्रिस्टिायनो रोनाल्डोले खेल जीवन सकिएपछि आफूले फिल्म खेल्ने बताएका छन् । गत हप्ता दुबईमा ग्लोब सकर अवार्ड थापेपछि उनले एक अन्तर्वार्ताक्रममा यस्तो चाहना व्यक्त गरेका हुन् ।

३२ वर्षीय पोर्चुगिज स्टारले आफूले तत्कालै फुटबलबाट सन्यास लिनेबारे नसोचे पनि त्यसपछि के गर्ने भन्नेबारे भने सोचिसकेको बताए । ‘स्काई इटालिया’लाई लामो अन्तर्वार्ता दिँदै रोनाल्डोले खेल जीवनबाट विश्राम लिएपछि आफूले व्यवासयसँगै फिल्म खेल्ने बताएका हुन् ।

स्मरण रहोस्, रोनाल्डो अहिले पनि खेल जीवनसँग आफ्नो व्यवसाय पनि चलाइरहेका छन् । उनका संसारका विभिन्न देशका ठूला सहरहरूमा सुविधा सम्पन्न रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् ।

अन्तर्वार्ताक्रमा रोनाल्डोले फुटब बिसाएपछि आफूले जान चाहेको क्षेत्र चलचित्र नै रहेको बताए । उनले अन्य फुटबलर भिन्नी जोन्स, इरिक कन्टोना, डेभिड बेह्कम पनि खेल जीवनपछि सोही क्षेत्रमा रहेको उदाहरण दिँदै आफ्नो पनि रुचिमा सिनेमामा रहेको बताएका हुन् ।

अन्तर्वार्ताक्रमा पत्रकारले सोधेको प्रश्नमा रोनाल्डोले फुटबलबाट सन्यास लिनेबारे भने केही खुलाएनन् । ‘एकदिन फुटबललाई सबैले छाड्छन्, म पनि छाड्छु नै,’ उनले भने, ‘अहिले नै कहिले भन्नेबारे मैले सोचिसकेको छैन ।’

त्यसक्रममा रोनाल्डोले आफूले पैसा कमाउन नभई चाहना पूरा गर्न फिल्म खेल्ने पनि बताए । ‘मलाई इच्छा लागेको कम गर्न मन लाग्छ,’ उनले थपे, ‘सिनेमा पनि मेरो इच्छाकै विषय हो ।’

पाँचपटक बालोन डि‘ओर तथा पाँचपटक नै फिफा वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले यो सिजनको अन्त्यसँगै रियल मड्रिड छाड्न चाहेको बताइसकेका छन् ।

प्रतिक्रिया

Loading...