रोनाल्डोलाई उछिन्दै मेस्सी बने २०१७ को उत्कृष्ट खेलाडी

विराटनगर, पुस १७
स्पेनिस महारथि बार्सिलोनाका स्टार फरवार्ड लिओनल मेस्सी भोटिङबाट सन् २०१७ को उत्कृष्ट खेलाडीमा छनौट भएका छन् । स्पेनिस अनलाइन ‘मार्का’ ले गरेको भोटिङका आधारमा मेस्सीले आफ्ना खास प्रतिस्पर्धी रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै पहिलो स्थान लिएका हुन् ।

‘मार्का’ले आफ्ना पाठकबाट १०० उत्कृष्ट खेलाडीको सूची बनाउन भोटिङ खुला गरेको थियो । जसमा ३० वर्षीय अर्जेन्टिनी स्टारले रियलका ३२ वर्षीय पोर्चुगिज स्टारलाई पछि पार्दै उत्कृष्ट खेलाडी बनेका हुन् ।

‘मार्का’ले जनाएअनुार भोटिङक्रममा आफ्नो रोजाइको खेलाडी छान्न खेलाडीबारे केही कुरा राख्नसमेत अपिल गरेको थियो । जसमा टप १०० खेलाडीको सूचीमा मेस्सी पलिहो नम्बरमा परेका हुन् ।

तर, ‘मार्का’ले अन्य खेलाडी को, कति नम्बरमा परे भन्नेबारे पनि केही खुलाएको छैन । उसले आफ्नो अनलाइनमा आफ्नो सर्वेक्षणमा मेस्सी उत्कृष्ट भएको जनाएको छ ।

सन् २०१७ मा व्यक्तिगत रूपमा गरिएको प्रदर्शनका आधारमा मेस्सी उत्कृष्टमा छानिएका हुन् । गत वर्ष मेस्सीले क्बललाई कोपा डेल रे कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । मेस्सीले २०१६÷१७ मा घरेलु लिगमा सर्वाधिक गोलकर्ताको हैसियतमा चौथोपटक गोल्डेन बुटसमेत जितेका थिए ।

उक्त सिजनमा मेस्सीले कूल ५४ गोल गरेका थिए भने ला लिगामा मात्रै कूल ३७ गोल गरेका थिए । बार्सिलोनालाई ला लिगाको उपविजेता बनाउन पनि मेस्सीको भूमिका महत्त्वपूर्ण थियो ।

प्रतिक्रिया

Loading...