Nepali News Portal

मतपत्र गलत बाकसमा परेपछि पुन: मतदान

0


नवलपरासी,मङ्सिर २१
नवलपरासीको सरावल गाउँपालिकास्थित एक मतदानकेन्द्रमा कर्मचारीको लापरवाहीका कारण मतपत्र गलत मतपेटिकामा खसेपछि पुन: मतदान भएको छ । त्रिमुर्ती आधारभुत तिलौली केन्द्र (ख) मा प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेपछि पुन: मतदान भएको हो । बिहान सात बजे मतदान गर्न आएका मतदाताले कर्मचारीको गलत निर्देशनका कारण प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसालेपछि केहीबेर मतदान स्थगित भएको थियो ।

गलत मतपेटिकामा मतदान भएपछि राजनीतिक दलका प्रतिनिधिसँग सहमति गरी पुन: मतदान गरिएको मतदान अधिकृत वीरेन्द्रकुमार तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार १८ जनाले मतदान गरिसकेपछि मतपेटिका गलत रहेको थाहा भएको थियो । सहमतिपछि मतदान गरिसकेका मतदातालाई पुन: मतदानको मौका दिइएको थियो । खसिसकेका १८ वटै मतपत्रको मुचुल्का तयार गरी शिलबन्दी गरिएको उनले बताए ।

पूर्व र पश्चिम गरी दुई भागमा विभाजित नवलपरासीका सबै मतदानकेन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए । दुवै जिल्लामा गरी ५ हजारभन्दा बढी सुरक्षाकर्मीले निर्वाचनमा सुरक्षा दिइरहेका छन् । पूर्वी जिल्ला अर्थात् नवलपुर क्षेत्रमा कुल २ लाख २१ हजार ७ सय १६ मतदाताका लागि १ सय बाह्र मतदानस्थल तथा २ सय ५८ मतदानकेन्द्रको व्यवस्था गरिएको छ ।

यस जिल्लामा रहेका दुई निर्वाचन क्षेत्रबाट २६ प्रतिनिधिसभा तथा ६३ प्रदेशसभा सदस्य उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी, पश्चिम जिल्ला अर्थात् परासी क्षेत्रमा कुल २ लाख ८ हजार २ सय सैंतीस मतदाताका लागि १ सय बीस मतदानस्थल तथा दुई सय मतदानकेन्द्रको व्यवस्था गरिएको छ । यस जिल्लामा जम्मा दुई निर्वाचन क्षेत्रबाट २६ प्रतिनिधिसभा र ६३ प्रदेशसभा उम्मेदवार आफ्नो भाग्यको परीक्षामा सामेल छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...