Nepali News Portal

जिदानले भने – थप सम्मानको हकदार छन् रोनाल्डो

0

मंसिर २० – रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले टिमका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई थप सम्मान गर्नुपर्ने बताएका छन् । रोनाल्डोले यो सिजन ला लिगामा धेरै गोल गर्न नसके पनि उनी थप सम्मान र आदरको हकदार रहेको प्रशिक्षक जिदानको भनाई छ । रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको अन्तिम खेलमा बुधबार राति बोरुसिडा डर्टमुण्डसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘एच’ मा रहेको रियल मड्रिडले अहिलेसम्म भएको समूह चरणका पाँच खेलमा १४ गोल गरेको छ । त्यसमा रोनाल्डो एक्लैले ८ गोल गरेका छन् ।

रियल मड्रिडले समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरिसकेको सकेको छ । च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डो अहिलेसम्मकै सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म च्याम्पियन्स लिगका १ सय ४५ खेलमा १ सय १३ गोल गरेका छन् । यो सिजन पनि च्याम्पियन्स लिगमा ८ गोल गरिसकेका रोनाल्डोले ला लिगामा भने यो सिजन दुई गोल मात्रै गरेका छन् ।

बोरुसिया डर्टमुण्डसँगको खेल अघिको पत्रकार सम्मेलनमा धेरै कुरा रोनाल्डोले ला लिगामा गोल गर्न सकेको बारेमा भएको थियो । जिदानले भने रोनाल्डो निकै राम्रो खेलाडी रहेको र उनले गोल गर्ने आफ्नो लय समात्नका लागि निकै मेहनत गरिरहेको बताएका छन् । अब खाँचो भनेको उनलाई थप सम्मान र आदर गर्ने रहेको जिदानको भनाई छ ।

गएको सिजन निकै राम्रो गरेका रोनाल्डोले यो सिजन पनि राम्रो गर्नेमा आफू ढुक्क रहेको उनले बताएका छन् । ला लिगामा गोल गर्न नसके पनि रोनाल्डोले च्याम्पियन्स लिगमा भने गोल गर्दै आएका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...