Nepali News Portal

संयुक्त सैन्य अभ्यास गर्दै अमेरिका र दक्षिण कोरिया

0

एजेन्सी, मङ्सिर १८ 
दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त हवाई सैन्य अभ्यास सुरु भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा सोमबार सुरु भएको यो अभ्यास हालसम्मकै सबैभन्दा ठुलो अभ्यास हो ।

संयुक्त सैन्य अभ्यासले अमेरिका र दक्षिण कोरियाबीचको मनोमालिन्य कम गर्ने तथा कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्ने विश्वाश गरिएको छ । उत्तर कोरियाले भने यस अभ्यासलाई आफू विरूद्धको उत्तेजनाको रुपमा लिँदै कडा विरोध जनाएको छ । अमेरिका र दक्षिण कोरियाका गरी २ सय तीस युद्धक विमान प्रयोग भएको यस अभ्यासमा स्थल सेनाको पनि निगरानी रहेको छ । यस अभ्यासमा दशौँ हजार दक्षिण कोरियाली सेनासमेत सहभागी छन् ।

उत्तर कोरियाले निरन्तर रुपमा गरिरहेको आणविक परीक्षणका कारण दक्षिण कोरियासँगको सम्बन्ध चिसिएको बेला सुरु भएको सैन्य अभ्यासलाई कुटनीतिक प्रतिशोधको रुपमा लिइएको छ । केही दिनअघि उत्तर कोरियाले हालसम्मकै शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । अभ्यासमा प्रयोग भएका शक्तिशाली युद्धक विमान उत्तर कोरियाली सीमामासमेत उडाइएको छ । यसअघि उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो ।

यसैबीच उत्तर कोरिया पुन: अर्को आणविक परीक्षणको तयारीमा रहेको बुझिएको छ ।उत्तर कोरियाको यो परीक्षणका विरूद्ध अमेरिका र दक्षिण कोरियाले संयुक्त रुपमा प्रतिरक्षा प्रणाली जडान गरिसकेको बताएका छन् । दक्षिण कोरिया र अमेरिका मिलेर गरेको यस्तो कामको कडा विरोध गर्दै उत्तर कोरियाले उक्त प्रणालीमाथि भौतिक आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले निरन्तर रुपमा गरिरहेको आणविक परीक्षणबाट संयुक्त राष्ट्रसंघ,अमेरिका र दक्षिण कोरिया झस्किएका छन् ।

दक्षिण कोरियाले गरिरहेको यो सैन्य अभ्यास अन्तर्राष्ट्रिय कानुन विपरित रहेको बताउँदै उत्तर कोरियाले यसलाई तत्काल रोक्नुपर्ने जनाएको छ । यो अभ्यासले आफ्नो सार्वभौमसत्तामाथि आघात परेको भन्दै उसले अभ्यास नरोके आफूले पनि जवाफी आक्रमण गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको पटक- पटकको आग्रहका बाबजुद आणविक परीक्षण जारी राखेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...