Nepali News Portal

चितवनमा प्रचण्डको चुनावी भाषण– ‘कांग्रेसको मानसिक सन्तुलन बिग्रिन लागेजस्तो छ’

0

चितवन, मंसिर १४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव नजिकिएसँगै विपक्षीहरूको ‘मानसिक सन्तुलन बिग्रिन लागेको’ बताएका छन् । बिहीबार गृहजिल्ला चितवनको भरतपुर–१५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानम्नत्रीसमेत रहेका प्रचण्डले वाम एकताबाट अत्तालिएर विपक्षीले मानिसक सन्तुलन गुमाउन लागेको टिप्पणी गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी र एमालेको वाम गठबन्धनबाट तर्सिएको कांग्रेसले अहिले अनेकथोक आरोप–पत्यारोपमा लागेको बताए । कांग्रेसको अराजनीतिक व्यवहारले उसको ‘मानसिक सन्तुलन बिग्रिन लागेजस्तो देखिएको भन्दै प्रचण्डले कांग्रेसको कडा आलोचना गर्न भ्याए ।

पुरानो इतिहास कोट्याउँदै अध्यक्ष प्रचण्डले २०१९ सालदेखि यता वामपन्थीहरू एक हुन नसकेकैले कांग्रेसले शासन गरेको बताउँदै अब आपूहरू मिलेकाले देश वाममय बन्ने बताए । माओवादी–एमालेको एकीकरण भए आफूहरूको अस्तित्व नै नामेट भएर जाने डरले कांग्रेसले फोहोरी व्यवहार देखाइरहेको आरोप लगाए ।

‘कांग्रेसकै कतिपय साथीहरू कम्युनिस्टहरू मिल्दैमिल्दैनन् भन्दै हिँडेको सुन्छ, कतिपयचाहिँ मिले बर्बादै हुन्छ भन्दै हिँडेको सुन्छु,’ उनले भने, ‘यो त मानसिक सन्तुलन गुमाउन लागेको जस्तो पो देखियो ।’

अध्यक्ष प्रचण्डले आफूहरू अब देशमा एउटै कम्युनिस्ट केन्द्र बनाएर जाने सैद्धान्तिक विषयमा सहमति बनाएरै आएकाले आफूहरूको एकीकरण्का हुने साथै चुनावपछि सरकार पनि वामपन्थीकै बन्ने दाबी गरे । ‘यसपटक वामपन्थीहरूको बहुमत पाए ५० वर्ष देशमा वामपन्थीले सरकार चलाउँछ,’ उनले भने ।

यो पनि हेर्नुहोला:
Comments
Loading...