Nepali News Portal

ओलीले रवीन्द्र मिश्रतिर औंला तेस्र्याउँदै भने– ‘मेस्सी खेलेको ठाउँमा गोल हान्न खोज्ने ?’

0

काठमाडौं, मंसिर १२
चुनावी सरगर्मी बढेका बेला मंगलबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको एक भाषण ‘भाइरल’ बनिरहेको छ । चुनावी सभाक्रमा देश दौडाहमा रहेका ओलीले आज (मंगलबार) वाम गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै निकै रमाइलो भाषण गरे ।

काठमाठौंको बानेश्वरमा आयोजित सभामा ओलीले चर्चित पत्रकार रवीन्द्र मिश्रलाई निकै घोचपेच गर्न भ्याए । केही समयअघि मात्रै बिबिसीको जागिर छाडेर राजनीतिमा होमिएका मिश्रलाई ओलीले भन्न केही बाँकी राखेनन् । मिश्र अहिले काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

आजको सम्बोधनमा ओलीले विवेकशील साझा पार्टीतर्फ संकेत गर्दै मिश्रको नाम नलिई नयाँ भाइबहिनी राजनीतिमा आउनु राम्रो भए पनि यो सजिलो खेल भने नभएको बताए । नेता ओलीले भाषणको बीचमा किस्सा मिलाउँदै रमाइलो व्यंग्य कसिहाले । ‘यो कुनै केटाकेटीको खेल होइन । यहाँ आएर गोल नगर्दा पनि हुने छुट छैन,’ ओलीले भने, ‘यो यस्तो म्याच हो, जहाँ गोल हान्नैपर्छ ।’

ओली त्यत्तिमै थामिएनन् । उनले झन् रमाइलो गरी भाषण ठोके पत्रकार मिश्रका नाममा । भने, ‘मेस्सी खेलेको ठाउँमा केटाकेटी आएर गोल हान्न खोज्ने ?’

उनले थप प्रष्ट्याए, ‘यसो देख्छु– हामी माझमा छौं, केटाकेटी हामीले खेलेको देखेर सिको गरिरहेका छन् छेउछिर । यसरी पनि गोल हुन्छ ?’

ओलीले यसो भन्दै गर्दा उपस्थित हजारौंले हुटिङ गर्न भ्याए । तालीको पर्रा निकैबेर बर्सिए । ओलीले पनि मुसुक्क हाँस्दै भाषण अघि बढाए ।

पछि उनले नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भए पनि यसमा आजको भोलि नै केही नहुने र बन्द कोठामा बसेर समाचार पढेजस्तो वा अरुलाई प्रश्न सोधेजस्तो सजिलो नहुने भन्दै पत्रकार मिश्रलाई नै इंगित गर्दै भाषणको विषयान्तर गरे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...