Nepali News Portal

चुनावको मुखमा पूर्वमा ‘बम आतंक’, चुनावी सुरक्षामा खतराको घण्टी !

0
भोजपुरमा बम प्रहार गरिएको एमाले नेता शेरधन राई सवार गाडी ।

उत्तम पोख्रेल
बेलाबारी, कात्तिक २८

निर्वाचनको मिति नजिकिएसँगै पूर्वी भेगमा बम आतंक सुरु भएको छ । मंगलबार मात्र पूर्वका विभिन्न दुई ठाउँमा बम विष्फोट भएको छ । भोजपुर र संखुवासभामा भएका विष्फोटले चुनावी सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

चुनाव आउन दुई साता मात्रै बाँकी रहँदा शृंखलाबद्ध रूपमा बम आतंक मच्चिएपछि पूर्व क्षेत्रको चुनावी सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको हो । मंगलबार भएका बम विष्फोटमा कसको संलग्नता छ भन्नेबारे केही खुलिनसके पनि यसमा विप्लव माओवादीको हात हुनसक्ने आशंका गरिएको छ ।

चुनाव नजिकिएसँगै पूर्वी पहाडी जिल्लामा विप्लव माओवादीका कार्यकर्ताले उम्मेदवारको घरमा झण्डा गाड्ने, घर कब्जा गर्ने र उम्मेदवारी फिर्ता लिन दिएको दबाबले यो घटनामा उनीहरूको संलग्नता रहेको प्रहरी नै अनुमान प्रहरीको छ ।

आज मात्रै नेकपा एमालेका नेता तथा भोजपुर क्षेत्र नम्बर २ प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम विष्फोट गराइयो । त्यसैगरी, संखुवासभामा आजै एमाले नेता राजेन्द्र गौतम चढेको गाडी पनि विद्युतीय धरामा परेको छ । विष्फोटबाट गौतमसहित ४ जना नेता घाइते भएका छन् ।

भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोलानजिकै गुम्बा मास्तिर एमाले नेता राईको गाडीमाथि बम प्रहार गरिएको थियो । बम विष्फोट हुँदा राईका अंगरक्षक असई डिल्ली देवकोटाको हातमा चोट लागेको छ । नेता राई पूर्व सञ्चारमन्त्रीसमेत हुन् ।

त्यसैगरी, एमाले नेता गौतम चुनावी सभालाई सम्बोधन गर्न संखुवासभाको धुपुबाट बाह्रबीसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस विष्फोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ ।

गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नवीन’ र पूर्ण राईसहित सवार रहेको बताइएको छ । बाह्रबीसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न नेताको टोली बिहानै त्यसतर्फ लागेको थियो ।

अहिले बम विष्फोट भएको क्षेत्रमा सेनाको हेलिकप्टरले हवाई गस्तीसमेत गरेको छ । ठाउँ–ठाउँमा उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट गराउन थालेपछि सुरक्षा निकायले सकर्तता बढाएको छ ।

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मामाथि पनि बम प्रहार गरिएको थियो । अहिलेसम्म घटनाको कसैले जिम्मा नलिए पनि यसमा विप्लव माओवादी संलग्न हुनसक्ने अनुमान गरिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...