Nepali News Portal

इराक–इरान भूकम्पमा मर्नेको संख्या १४० नाघ्यो

0

सिन्हवा/रासस, कात्तिक २७
इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको छ। उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुश भएको अधिकारीहरुले जनाएका छन्। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

उक्त भूकम्पमा परी इराकमा पनि ६ जनाको ज्यान गएको बताइएको छ। भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्।

भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ। इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पहरुमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ।

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन्। अधिकारीहरुले सोमबार बिहानसम्ममा घाइते हुनेको सङ्ख्या एक हजारभन्दा बढी नै रहेको पनि समाचारमा उल्लेख गरिएको छ।

भूकम्पको उद्वारका काममा खटिरहेको उद्वारकर्मी र अधिकारीहरुले सञ्चारमाध्यमहरुलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ।

भूकम्पले कैयौँ घर भत्किएका छन्। भत्किएका भवनहरुको भग्नाबशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएका छन्।

इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेषगरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ। साथै अरु पनि कैयौँ गाउँ र सहरहरुमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ।

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ। बाटो अबरुद्ध नै भएको छ। कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ। यसका कारण उद्धार टोलीहरुलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ।

भूकम्प लगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिसहरु अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन्। बारम्बारको पराकम्पनले उनीहरुमा त्रास फैलिएको बताइएको छ।

मानिसहरु सडकमा भेला भएर बसेका छन्। पराकम्पन आउनसक्ने डरले उनीहरु घरमा फर्किन सकेका छैनन्।

उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ। सामाजिक सञ्जालहरुमा राखिएका तस्वीरहरुमा कुवेतीहरु पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ। तर कुवेतबाट क्षतिको अवस्थाको बारेमा भने केही जानकारी हुन सकिरहेको छैन।

यो पनि हेर्नुहोला:
Comments
Loading...