Nepali News Portal

‘निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै’ मिनेन्द्र रिजाल मतदातालाई पैसा बाँड्दै !

0

किशोर विश्वकर्मा
विराटनगर, कार्तिक २६
मोरङ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मिनेन्द्र रिजालले मतदाता प्रभावित पार्न निर्वाचन आचारसंहिताबिपरीत पैसा बाँड्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका रिजालले रतुवामाई नगरपालिका–६ स्थित सहयात्री युवा समाजले आयोजना गरेको शव बहान र एम्बुलेन्स खरिदका लागि बृृहत् भेलामा बोल्दै पैसा बाँडेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म अहिले रकम बताउँदिनँ तर एम्बुलेन्स तथा शव बाहन खरिदका लागि तपाईंहरू मलाई तुरुन्त भेट्नुहोस्, तपाईंहरूलाई गोप्य रूपमा पैसा दिन्छु । चित्त बुझ्ने गरी पैसा दिन्छु । र, चुनाव सकिएपछि पनि फेरि थप गरिदिन्छु ।’
उनले आफूले निर्वाचन जितिसकेपछि एम्बुलेन्स तथा शव बहान खरिदका लागि छुटमा खरिद गर्ने व्यवस्था मिलाइदिनेसमेत आश्वासन दिन भ्याए ।

कार्यक्रममै उपस्थित वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेलले सम्बोधन गर्दै आफू कानुनको पूर्ण पालना गर्ने भएकाले एम्बुलेन्स तथा शव बहान खरिदका लागि निर्वाचन सकिएको भोलिपल्ट मात्र बोल्ने बताए ।

उनले भनें, ‘म कानुनको पूर्ण रूपमा पालना गर्ने मान्छे भएकाले तपाईंहरूलाई पैसा दिन्छु भन्दिनँ । २१ गते कटोस्, म सार्वजनिक रूपमै तपाईंहरूलाई भन्छु ।’

निर्वाचन आचारसंहिता २०७२ अनुसार मतदातालाई प्रभावित पार्ने गरी रकम बाँड्दा वा रकम दिन्छु भन्दा कारबाही हुने व्यवस्था छ । आचारसंहिताअनुसार त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले ६ वर्षसम्म कुनै पनि पदमा उठ्न नपाउने गरी प्रतिबन्ध लगाउन सक्छ । त्यस्तै, १ लाखसम्म जरिमाना गरी कालोसूचीमा राख्नसक्ने क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सन्जेलले जानकारी दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...