Nepali News Portal

जाडोमा यसरी गरौं केटाकेटीको हेरविचार

0

रामहरि चापागाईं बालरोग विशेषज्ञ

जाडो मौसम सुरु भइसकेको छ । बिहान–बेलुका चिसो बढी नै अनुभव हुन थालेको छ । गर्मीमा झाडापखालाजन्य रोगको खतरामा रहने साना केटाकेटीलाई जाडोमा भने श्वासप्रश्वास र छालाजन्य रोगको समस्या बढी हुन्छ । जाडोमा बालबालिकाको हेरचाहमा केही पाटोमा विशेष ध्यान दिनैपर्छ :

लवाइ : तालु र  पैतालाको विशेष सुरक्षा
जाडोमा केटाकेटीलाई ठूला मान्छेलाई भन्दा बढी न्यानो बनाउनुपर्छ । चिसोका केटाकेटीलाई निमोनियालगायत फोक्सोजन्य रोग, रुघाखोकी लाग्ने खतरा हुन्छ । त्यसैले यो मौसममा बाक्ला र न्याना लुगा लगाइदिनुहोस् । खासगरी साना बच्चाको तालु र पैतालामा विशेष हेरचाह हुनुपर्छ । टोपी र मोजा अन्य कपडाको तुलनामा बढी तातो हुनु जरुरी छ । यही दुई भागबाट चिसो छिर्ने र बच्चालाई फोक्सोजन्य रोग लाग्ने बढी खतरा हुने गर्छ । मान्छेको तौलको आधारमा टाउको र खुट्टाको एरिया बढी हुन्छ । जस्तैः १० केजीको बच्चाको टाउकोको एरिया र ४० वर्षको व्यक्तिको टाउकोको एरियामा खासै बढी अन्तर हुँदैन । त्यसैले केटाकेटीको जिउमा बाक्ला लुगा लगाइदिएर टाउको या खुट्टा खाली राखियो भने पनि चिसो गड्छ ।

सरसफाइ : हप्तामा कम्तीमा एकपटक नुहाइधुवाइ
जाडो मौसममा चिसो हुने भएकाले बच्चालाई कपडा धेरै लगाइदिने, तर नुहाइधुवाइ कम गर्ने चलन हुन्छ । अधिकांश केटाकेटीमा सरसफाइको अभाव हुन्छ । बच्चाहरू नुहाउन नमान्ने तथा अभिभावक पनि चिसो लाग्छ भन्दै ननुहाइदिने गर्छन् । यसकारण केटाकेटीलाई छालाजन्य रोग बढी लाग्ने हुन्छ । दाद, खटिराजस्ता समस्या जाडोमा बढी हुन्छ । त्यसैले सहनसक्ने तातोपानीमा बच्चालाई कम्तीमा हप्तामा एकपटक पूरा शरीर नुहाइदिनुपर्छ । लगाउने कपडा सफा–सफा फेरबदल गरिदिने कुरामा अल्छी गर्नुहुँदैन । सरसफाइको कमीले छालाजन्यबाहेक अन्य रोग पनि  लाग्न सक्छन् ।

बसाइ: न्यानो, तर खुला कोठा
अधिकांशको सोचाइ हुन्छ– घरबाहिर मात्रै प्रदूषण छ । तर, घरभित्रै पनि प्रदूषण हुन्छ । जाडोमा केटाकेटी घरभित्रै विभिन्न प्रदूषणको सिकार हुन सक्छन् । त्यसैले उनीहरूको बस्ने व्यवस्थामा विचार गर्नुपर्छ । गाउँघरतिर धेरै मान्छे एकै ठाउँमा बस्छन् र घरभित्रै प्रदूषण बढी हुन्छ । जाडोमा सकेसम्म एउटै कोठामा गुजुमुज्ज भएर सुत्नुहँदैन ।

यसले भाइरल इन्फेक्सन गराउँछ । जाडोमा रुघाखोकी र निमोनियाको खतरा बढी हुन्छ । सहरबजारमा चाहिँ कोठामा क्रस भेन्टिलेसन नहुनाले प्रदूषण बढ्छ । झ्यालढोका डम्म पारेर हिटर, ग्यास गिजर, कोइलालगायत बाल्नुहँुदैन । यस्तो अवस्थामा कार्बन मोनोअक्साइड प्वाइजन भएर मान्छे मर्न सक्छ । केटाकेटीलाई बढी असर गर्छ । कोठा तातो पार्ने नाममा हावाको प्रभाव नमिलाई तातो दिने आगोको स्रोत बाल्नुहुँदैन ।

खुवाइ : तातो  झोलयुक्त खाना
जाडोको खानपान गर्मीको खानपानभन्दा फरक हुन्छ । जाडो मौसममा बच्चाको क्रियाकलाप नै कम हुन्छ । चिसोका कारण बिहान ढिला उठ्ने, दिउँसो कम खेल्ने गर्छन् । यस्तो अवस्थामा बच्चाले कम खान्छ । जाडो मौसम बढी रुच्ने समय हो, तर बच्चाको दैनिक क्रियाकलापमा कमी आउनाले कम खाने गर्छन् ।

यस्तो वेला बाबुआमाले खुवाइमा जोड लगाउनुपर्छ । कम खाएपछि बच्चामा शारीरिक शक्ति कम हुन्छ र झन् दुब्लाउँछ । दुब्लो भएपछि रोगविरुद्ध लड्ने क्षमता कम हुन्छ । खानेकुराहरू चिसो भएर पनि बच्चाले खान मन गर्दैनन् । यस्तो अवस्थामा तताएर खान दिनुपर्छ । तात्तातो झोल कुरामा बच्चाले बढी मन लगाउँछन् । चिसोमा पानीको मात्रा कम भएमा बच्चाले राम्रोसँग दिसा गर्न सक्दैनन् भने विभिन्न रोग पनि लाग्न सक्छ ।

-पत्रपत्रिकाबाट

यो पनि हेर्नुहोला:
Comments
Loading...