Nepali News Portal

मसँग चुनाव लड्ने पैसा छैन, खाडीबाट सय–सय रुपैयाँ बटुलेर पठाउँदैछन् : लालबाबु

0

एमाले नेता लालबाबु पण्डित असल राजनीतिक चरित्र तथा सादा जीवनशैलीका कारण चर्चित छन् । पार्टीको पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री रहँदा उनी आफ्ना कामका कारण निकै चर्चित रहे ।

सर्लाहीको धनघडा भन्ने स्थानमा ०१५ साल मंसिरमा जन्मिएका नेता पण्डितले ०३५ सालमा तात्कालीन मालेदेखि राजनीति थालेका थिए । उनै पण्डित अहिले मंसिर २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ–६ बाट उम्मेदवार बनेका छन् । उनको भिडन्त कांग्रेस नेता शेखर कोइरालासँग हुँदैछ ।

यसै सेरोफेरोमा रहेर नेता पण्डितसँग कोसी अनलाइनकर्मी किशोर विश्वकर्माले कुराकानी गरेको चुनावी कुराकानी :

तपाईंका चुनावी एजेन्डा के–के हुन् ?

यो चुनावी प्रतिस्पर्धा विराटनगरलाई महानगर बनाउने पक्ष र अर्को बनाउन नदिने पक्षबीचको प्रतिस्पर्धा हो । विराटनगरलाई महानगर बनाइनुपर्छ भन्ने माग जहिल्यै पनि नेकपा एमालेले ग¥यो । अन्तमा विराटनगरलाई महानगर हुन नदिने तत्त्व परास्त भयो ।

यसपटक म निर्वाचित भए वाम गठबन्धनले सार्वजनिक गरेको घोषणा पत्रअनुसार सम्पूर्ण काम गर्छु । यसको अक्षरसः पालना हुनेछ । यद्यपि, मेरा आफ्नै एजेन्डा पनि छन् । विराटनगर अहिले नाम मात्रैको महानगरपालिका भएको छ । कागजमा मात्रै सीमित छ । म निर्वार्चित भए यसलाई साँच्चैको महानगर बनाउने छु ।

त्यस्तै, विराटनगरलाई प्रदेश–१ को राजधानी बनाउन कुनै कसर बाँकी राख्ने छैन । विराटनगरमा बाइपास रोड बनाएर ठूला सवारीका साधन मुख्य सडकभन्दा बाहिरबाट सञ्चालनको व्यवस्था मिलाउँछु । विकास निर्माणको गति यहाँ सुस्त छ । नयाँ जनप्रतिनिधि आएपछि केही गर्नु होला भनेको, त्यो पनि हुन सकेको छैन । उहाँहरूले जनअपेक्षाअनुरूप काम गर्न सक्नुभएन । अब म विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउँछु ।

विकास निर्माणका कुनै पनि काम समयसीमाभित्रै गराउने मेरो प्रथामिकता रहनेछ । विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्रको हबका रूपमा विकास गराउने छु । क्षेत्र ६ मा रहेको अव्यवस्थित बसोबासलाई व्यववस्थित बनाउने छु । फन पार्क, कृषिमा यान्त्रीकरण, धार्मिक सद्भावको विकासलगायत काम मेरा प्रथामिकतामा हुनेछन् ।

म झुटो बोलेर झुटको खेतीगर्ने मान्छे होइन, म मतदाताको घरमा पुग्दा जे बोलेको छु, त्यही गर्छु । म झुट बोल्दिनँ, जेल बोल्छु त्यही गर्छु । लेखेर राख्नुहोस् ।

सबैले विराटनगरलाई नै प्रदेशको राजधानी बनाउनुपर्छ भनिरहेका छन् । प्रदेशको राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्दैन र ?

के मोरङको सदरमुकाम विराटनगर पनि केन्द्रमा छ र ? अवश्य पनि छैन । त्यसर्थ जहाँ सबै हिसाबले पर्याप्त पूर्वाधार हुन्छ, त्यहीं राजधानी बनाउन उपयुक्त हुन्छ । त्यो पर्याप्त पूर्वाधार विराटनगरमा छ । त्यसर्थ अरूले केवल जनतालाई भ्रममा पर्ने मात्र हुन् । म भन्छु– विराटनगरलाई प्रदेशको राजधानी बनाउन म मेरो तर्फबाट कुनै कसर बाँकी राख्नेछैन ।

तपाईं उम्मेदवार भएको क्षेत्र कांग्रेसको गढ मानिन्छ, जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

हेर्नुस्, कुनै पनि क्षेत्र कसैको पेवा हुँदैन । त्यसमाथि अहिले जनता पहिलेजस्तो त्यत्ति मूर्ख छैनन् । कुनै स्थानमा एक छिनमा सर्प देखिने हो । त्यसपछि एकैछिनमा त्यहाँ देखिँदैन । निर्वाचन क्षेत्र पनि उस्तै हो । म जनताको बीचमा झुट बोल्ने नेता होइन ।

त्यसकारण मलाई यो क्षेत्रका जनताले विशेष माया गर्नुहुनेछ । मैले विश्वासको मत पाउँछु । त्यसै मतले म करिब साढे ४ हजार मतका साथ चुनाव जित्छु । मैले अहिले सपना पनि जितेकै र विपना पनि जितेकै देखिरहेको छु ।

तपाईंका निर्वाचन जितेपछिका विशेष योजना केही छन् ?

म मन्त्री पदमा रहँदासमेत आफूले पाउने सेवा–सुविधा समेत कटौती गरें । मेरा लागि नयाँ गाडी ल्याउने भनिए पनि मैले पुरानै गाडीमा चढ्ने निर्णय लिएँ । किनभने, म जहाँ जस्तो जे साधन पायो त्यसैमा यात्रा गर्ने मान्छे हुँ । साइकल, मोटरसाइकल जे हुन्छ, त्यसैमा । काठमाडौंमा समेत म ट्याप्पोमै चढेर हिँड्थें । म भ्रष्टाचार हुन दिन्नँ । र, सुशासनको पक्षमा काम गर्छु ।

तपाईंमाथि अन्तर्घात हुँदैछ भन्ने सुनिन्छ नि ?

यस कुरामा म पटक्कै विश्वास गर्दिनँ । हाम्रो पार्टी वा वाम गठबन्धनबाट कुनै पनि किसिमको अन्तर्घात हुन्छ भन्ने मलाई लाग्दैन । यसपटक मेरो क्षेत्रमा मात्रै हैन, अन्य स्थानमा पनि अन्तर्घात हुने सम्भावनै छैन ।

निर्वाचनमा धेरै पैसा खर्च हुन्छ होला, कति भेला पार्नुभएको छ ?

मैले अहिलेसम्ममा तीनवटा निर्वाचनमा प्रतिस्पर्धा गरिसकेको छु । ०४८ सालको निर्वाचनमा मैले ३० हजार रुपैयाँ खर्च गरें । ०५१ मा ७० हजार र ०५६ मा ३ लाख ५० हजार खर्च गरें । यो चुनावमा खर्च गर्ने मसँग पैसा छैन । केही पार्टीले गरिदिने छ भने बाँकी खर्च मलेसियामा रहेका नेपालीले प्रतिव्यक्ति १ सय रुपैयाँ संकलन गरिरहेको मैले खबर पाएको छु ।

उहाँहरूले संकलन गरेर पठाउँदै छौं भन्नुभएको छ । संकलन गरेर जति पठाउनुहुन्छ , त्यहीबाट खर्च हुन्छ । जुन पारदर्शी रूपमा खर्च हुन्छ । पैसाले मत किन्ने हैन, मतदाताको मनमा पस्न सक्नुपर्छ ।

तपाईंलाई त मधेसविरोधी नेता भनिन्छ नि ?

जसले राष्ट्र विखण्डनको सोच राख्छ, त्यसले मात्र मलाई मधेसविरोधीको आरोप लगाउँछ । म मधेसको समृद्धि चाहने, मधेसको विकास चाहने र मधेसी जनताको अधिकारका पक्षमा बोल्ने मान्छे हुँ । त्यसर्थ म मधेसविरोधी हैन । म हिमाल, पहाड र तराईलाई जोड्ने व्यक्ति हुँ ।

अन्त्यमा, केही भन्नुहुन्छ ?

क्षेत्र नम्बर ६ का मतदातालाई मलाई अत्यधिक मत दिएर विजयी गराइदिनुहुन अनुरोध गर्छु । ताकि, त्यो क्षेत्र भोलि चाँडै विकासमा अघि बढ्न सकोस् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...