Nepali News Portal

अनि म कविता लेख्नेछु – रमेश अधिकारी

जब शिकारीको मुटुमा दियो बल्नेछ
मयुरका भयभित पखेटा निर्धक्क नाच्नेछन्
हरिण र मृगहरू निसंकोच डुल्नेछन्
सुगाहरु पिंजडाको कथा भुल्नेछन्
गुराषहरु कोइली धुनमा मोहित हुनेछन्
अनि म कविता लेख्नेछु |

जब जुठो भाडा माज्ने सानो भाई भन्नेछ
दाई मैले होटेल छाडेनि , अब आमासंग बस्ने !
भट्टीका इट्टा बोक्ने सानी बहिनि बोल्नेछिन
दाई म पनि स्कुल जान थाले नी !
अनि म कविता लेख्नेछु |

जब युद्ध मैदानमा सेतो परेवा उड्नेछ
परिवार पाल्न खाडी पसेको साथीले भन्नेछ
साथी ! आज साहुले तलब दियो नि !
अनि म कविता लेख्नेछु |

जब वृद्धआश्रमकि आमा लिन छोरो पुग्नेछ
भूकम्पले एक्लाएकी नावालिका , मुसुक्क हास्नेछिन्
भ्रस्टाचारीको होश खुल्नेछ अनि शिर नुग्नेछ
युद्धमा बेपत्ता छोरो घर पुग्नेछ
अनि म कविता लेख्नेछु |

जब जडभुमि जलको स्पर्शले मग्न हुनेछ
रौद्रभै बग्ने नदि शान्त हुनेछन्
जब किसानले हर्षको गीत गाउनेछ
पीडाले छटपटीएको गरिव , सिटामोल पाउनेछ
अनि म कविता लेख्नेछु |

जब फोहोर टिप्ने हातहरु कलम टिप्नेछन्
जब चाउरि परेको अनुहारमा मुस्कान हुनेछ
सडकपेटीमा माग्ने बृद्धहात , आशिर्वाद दिनेछन्
मानवताको विउ अंकुरित हुनेछ , आकाश छुनेछ
अनि म कविता लेख्नेछु | |

लेखक – रमेश अधिकारी
हाल काठमाण्डौ

यो पनि हेर्नुहोला:
Comments
Loading...