Nepali News Portal

प्राचिन र प्रसिद्ध सप्तरीको बाबा बनसखण्डी मठ

राम प्रसाद शाह
सप्तरी जिल्लाको लोहजारा गा.वि.स. वडा नं. ९ मा बाबा बनसखण्डी (ठेलिया) मठ रहेको छ । जिल्लाकै अति प्राचीन र प्रसिद्ध मानिएकोे यो मठ पूर्व–पश्चिम लोकमार्ग स्थित सिमरा चौकदेखि करिब २ कि.मि. दक्षिणमा अवस्थित छ ।

गुरू नानकका अनुयायी बनसखण्डी बाबा भएका कारण यस मठलाई सीख धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलको रूपमा मान्दैआएका छन् । वनसखण्डी बाबा अति सिद्ध महात्मा थिए । जनश्रुतिअनुसार उनले बिहानै गुप्तगड्डामा नुहाएर सुनसरी जिल्लास्थित धुनीवन (रामधुनी)मा धुनी जगाई बेसातकियामा आराम गरी पुनः राति नै विश्राम गर्न आफ्नो ठेलिया स्थित मठमा फर्किने गर्दथे । गुप्तगड्डा हाल झौरादहको नामले चिनिन्छ । उनको दैनिक प्रयोगमा आएका तीनवटै स्थलहरू सप्तरी र सनुसरीमा पवित्र तीर्थस्थलको रूपमा प्रसिद्धी पाएका छन् ।

खुल्ला चौर जस्तो ठाउँमा अति उचाइमा रहेको ठूलो ढिस्कोमा बाबा बनसखण्डी मठ निर्माण गरिएको छ । मठ नजिकै एउटा ठूलो सालको रूख रहेको छ । उक्त रूखमा केही वर्ष अघिसम्म आंप फल्ने गरेको स्थानीय प्रत्यक्षदर्शीहरूको कथन छ । बनसखण्डी बाबालाई आंप खान मन लागेको बेला आंप नपाएको झोंकमा रिसाएर चिम्टाले रूखमा हिर्काउदा आँप फलेको जनविश्वास रहेको छ । वर्तमान अवस्थामा पनि रूखको तल्लो भाग साल र माथिल्लो भाग आंपको हांगा देखिन्छ । त्यस स्थानमा गुरू नानक सम्प्रदायका मोहनदास बैरागीको कुटी थियो । धेरै वर्षसम्म उनी त्यही बसेर समाधिस्थ पनि त्यही भएका थिए । यतिमात्र नभई गुरू नानक स्वयं समाधिस्थ भएको जनविश्वास रहेको छ । त्यस मठमा सिख धर्मसम्बन्धी अति प्राचीन एवम् दुर्लभ हस्तलिखित ग्रन्थ समेत मठमा रहेको थियो । यद्यपि वि.सं. २०४८ सालताका कालो पारदर्शी पत्थर र गुरूमुखी लिपिमा लेखिएको प्राचीन ग्रन्थ तथा मूर्तिहरू हाल मठबाट गायब भइसकेका छन् । भारतको पञ्जाब, मुम्बई, दिल्लीसहितका स्थानहरू धर्मावलम्बीहरू वर्षेनी आउने गर्दथे । यद्यपि ग्रन्थ, मूर्ति र कालो पारदर्शी पत्थरहरू चोरी भइसकेपछि धर्मावलम्वीहरू आउने क्रम पातलिएको छ ।

मठमा पूजा–आजाका लागि तत्कालीन राजा राजेन्द्र वीरविक्रम शाहबाट मठको नाममा १ सय २६ विगहा जग्गा प्रदान गरेको अभिलेख मठका महन्थ पुरूषोत्तम वैष्णवसंग रहेको थियो । यो मठ सिख धर्मसँग सम्वन्धित रहेपनि हिन्दूहरूले यस स्थललाई अति महत्वपूर्ण आस्थाकेन्द्रको रूपमा मान्दै आएका छन् । यहाँदैनिक रूपमा पूजा–आजा हुँदै आएपनि कार्तिक महिनाको हरिबोधिनी एकादशी, तथा माघ महिनाको भीमा एकादशीमा ठूलो मेला लाग्ने गर्दछ ।

यहाँको अर्को विशेषता के रहेको छ भने जिल्लामा धान रोप्ने समयमा सुख्खा खडेरीको अवस्था सिर्जना भएपछि बनसखण्डीमा पूजा गर्दा वर्षा हुने जनविश्वास अहिले पनि कायम रहदैआएको छ । मालपोत कार्यालयका प्रमुखको नेतृत्वमा यो मठमा पूजा–आजा हुँदैआए पनि विगत केही वर्षदेखि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा वर्षाका लागि बनसखण्डी मठमा पूजा–आजा गर्ने परम्पराको सुरूवात भएको छ ।

यो स्थल मध्यकालीन समयको भएको हुन सक्ने सप्तरीका इतिहासविद् हरिकान्तलाल दासको तर्क छ । बनसखण्डी मठको पछाडि महुली नदीको किनारमा करिब ६ विगहा क्षेत्रफलमा पुरातात्विक ढिस्को रहेको छ । प्रा. दासका अनुसार स्थल वरिपरी पुराना ईटाका टुक्राहरू प्रशस्त मात्रामा पाइने गरेकोले गर्भगृहमा प्राचीन सभ्यताको प्रमाणहरू हुनसक्दछन् । समग्रमा भन्नुपर्दा यो स्थल अति प्राचीन स्थलहरू मध्येको एक हो । अतः बनसखण्डी मठसम्म पुग्नका लागि सहज बाटो तथा भौतिक पूर्वाधारहरू निर्माणका साथै उत्खनन्का लागि राज्यपक्ष गम्भीर बन्नुपर्दछ ।

Comments
Loading...