Nepali News Portal

दक्षिण कोरियाले उत्तरलाई वार्तामा बोलायो

एजेन्सी, साउन २
उत्तर कोरियाको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणपछि चुलिएको तनावबीच दक्षिण कोरियाले उत्तरलाई सैन्य मामिलामा वार्ताका लागि निम्त्याएको छ। विरलै हुने घटनाको रुपमा चित्रित दक्षिण कोरियाको यो पहललाई उत्तर कोरियाले स्वीकार गर्नेनगर्ने केही बताएको छैन।

उत्तर कोरियासँग वार्ता गर्ने दक्षिण कोरियाको यो प्रयासलाई हालै बढेको तनाव कम गर्ने कदमका रुपमा व्याख्या गरिएको छ। दक्षिण कोरियाली रक्षा मन्त्रालयले २१ जुलाईका दिन सीमानाको सहर पानमुन्जोममा कोरियाली युद्धमा छुट्टिएका परिवारको मिलनका लागि वार्ताको प्रस्ताव राखेको छ।

‘हामीले सैन्य तनाव बढाउने शत्रुतापूर्ण गतिविधिलाई रोक्न वार्ताको प्रस्ताव गरेका छौँ,’ रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

उता रेडक्रसले भने सोही स्थानमा अगस्ट १ का दिन वार्ता आयोजना गर्ने प्रस्ताव राखेको छ।

‘हामी उत्तरबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गर्दछौँ,’ दक्षिण कोरियाली उपरक्षामन्त्री सु चु सुकले भनेका छन्।

दक्षिण कोरियाली सरकारको यो प्रस्ताव अघि बढेमा डिसेम्बर २०१५ यता दुई कोरियाबीच पहिलो पटक औपचारिक वार्ता हुनेछ।

यो पनि हेर्नुहोला: