Nepali News Portal

बाढीमा १ को मृत्यु, ४ बेपत्ता

बाढीले क्षति पुर्याएको क्षेत्र ।

रामेछाप, साउन १
लिखु गाउँपालिका ७ खिम्तीमा शनिबार राति आएको बाढीले बगाएर १ जनाको ज्यान गएको छ । ४ जना बेपत्ता छन् ।

बाढीले ७५ वर्षीया बालकुमारी खत्रीको ज्यान गएको हो । ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका २ घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि अबिरल बर्षा भएको खिम्ती क्षेत्रका खहरे र छतिवने खोलामा राती बाढी आएको स्थानीयहरुले बताएका छन् ।

स्थानीय गणेश दाहालका अनुसार खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेको हो । बाढीले पार्किङ गरेका सवारी साधनमा पनि क्षति पुगेको छ ।

बाढीग्रस्त क्षेत्रमा उद्दारका लागि राती नै जान खोजिएपनि बाटोका कारण नसकिएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलसहितको टोली खिम्ती पुगिसकेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सदरमुकामबाट सेना, सशस्त्र र जनपद प्रहरीको उद्दार टोली परिचालन गरिएको बताए ।

खिम्ती र फर्पु क्षेत्र जिल्लाकै बाढीको उच्च जोखिमयुक्त स्थानहरु हुन् । खिम्तीमा चार बर्षअघि बाढीले ८ जनाको ज्यान लिएको थियो ।

 

यो पनि हेर्नुहोला: