शर्मासहित ३ जनाका विरुद्ध मुद्दा दर्ता, १० अर्ब रुपैयाँ बिगो दाबी

शर्मालाई अख्तियार लगिदैं ।

काठमाडौं, साउन १
१० अर्ब रुपैयाँ बिगो दाबी गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आईतवार बिहान अख्तियारले महानिर्देशक शर्मा, कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि अख्तियार टोलीले बिहिबार नै मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको थियो तर शुक्रबार समय अभाव भएकाले मुद्दा दर्ता हुन सकेन । शर्मासहितका प्रतिवादीहरुले व्यापारिक फर्मसँगको मिलेमतोमा कर फर्स्यौटमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

‘छानबिनका क्रममा व्यापारिक फर्मसँग मिलेर आफुले गैरकानुनी लाभ लिई राष्ट्रलाई ठूलो नोक्सान पुर्याएको देखिएको छ । यो सुनियोजित अपराध हो’, अख्तियार स्रोतले भन्यो ।
झन्डै १७ सय निवेदनमध्ये कर फर्स्यौट आयोगले १ हजार ६९ फर्मको कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो ।

झन्डै ३० अर्ब ५२ करोड रुपैयाँ बराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित उजुरी परेपछ अख्तियारले छानबिन र अनुसन्धान अगाडि बढाएको थियो । जेठ १८ गते बयानका लागि उपस्थित भएका शर्मालाई हिरासतमा लिइएको हो ।

यसअघि अख्तियारले मागेको तीन अर्ब २ करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि शर्मा हिरासतमै छन् । मुद्दामा प्रतिवादी बनाईएका महत र ढकाल भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: