‘विराटनगरबाट मात्र मतदाता नामावली अद्यावधिक असम्भव’

किशोर विश्वकर्मा
विराटनगर, असार ३१
मोरङको नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य विराटनगरबाट मात्र सम्भव नहुने यहाँका राजनीतिक दलहरुले बताएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य साउन १ देखि १५ गतेसम्मको समय तोकेर सदरमुकाममै गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेस मोरङका प्रतिनिधि बाबुराजा कोईरालाले निर्वाचन आयोगले १५ दिनको समय तोकेर सदरमुकामस्थित क्षेत्रीय कार्यालयबाट मात्र नामावली अद्यावधिक हुने निर्णय अव्यवहारिक र त्रुटिपूर्ण रहेको बताए । उनले मोरङका बिभिन्न विकट वडाका जनता विराटनगरमा आएर फोटोसहितको मतदाता नामावली दर्ता गराउन ठुलो खर्च लाग्ने भएकाले कम्तीमा हालका १७ वटै स्थानिय तहबाट नामावली अद्यावधिक गरिनु पर्ने माग राखे ।

नेकपा एमालेका प्रतिनिधि जगत थापाले मतदाता नामावली अद्यावधिक कार्य आयोगका लागि नभई मुलुकका लागि आवश्यक रहेकाले १७ वटै स्थानीय तहबाट हुनुपर्नेमा जोड दिंदै समयावधिसमेत एक महिना थप हुनुपर्ने औंल्याए । थापाले यसबारे सरोकारवाला सबैले जानकारी पाउनुपर्ने बताउँदै व्यापक प्रचारप्रसार हुनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका मुक्ति बराल, संघीय समाजवादी फोरम नेपालका राजकुमार यादव, लोकतान्त्रिक फोरमका सविर अहमदलगायतले १५ दिनको समय अपर्याप्त हुने बताए ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सबै दलका प्रतिनिधिहरुले उठाएका सवालहरु निर्वाचन आयोगलगायत सम्वन्धित निकायमा पठाउने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: