मोरङका ९ वटै निर्वाचन क्षेत्रका सडक कालोपत्रे, सर्वसाधारणमा छायो खुसी

ग्रामीण सडकहरू कालोपत्रे भएसँग स्थानीय बासिन्दा हर्षित, धुलो र हिलोको समस्याबाट मुक्त

किशोर विश्वकर्मा
विराटनगर, असार २८
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ र सुनसरीका दुई दर्जनभन्दा बढी सडकहरू कालोपत्रे भएपछि स्थानीय हर्षित बनेका छन् । मोरङ र सुनसरीका १५ निर्वाचन क्षेत्रका स्थानीयले कल्पनासम्म नगरेका सडकहरू कालोपत्रे भएपछि स्थानीय हर्षित बनेका हुन् ।
करिब ७५ करोड रुपैयाँको लगानीमा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सम्बन्धित क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद्हरूले रोजेका एक–एक सडकहरू कालोपत्रे भएको डिभिजन सडक कार्यालय विराटनगरका प्रमुख जितेन्द्रकुमार चौधरीले जानकारी दिए ।

सो योजनाअन्तर्गत मोरङका ९ वटै निर्वाचन क्षेत्रका सांसद्ले छनौट गरेका एक÷एक सडक कालोपत्रे गरिएको कार्यालय प्रमुख चौधरीले बताए । एउटा सडक करिब ५ करोड रुपैयाँको को लागतमा निर्माण सम्पन्न भएको निर्वाचन क्षेत्र सडक योजनाहरू आर्थिक वर्ष ०७१/०७२ बाट सुरु भएर चालु आर्थिक वर्ष ०७३/०७४ मा सम्पन्न भएको लेखा प्रमुख भाष्कर शर्मा नेपालले जानकारी दिए ।

सो योजनाअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मदनमार्ग सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष ०७१/०७२ सम्झौता भएको सो मदन मार्ग दक्षिण पूर्वी मोरङको रतुवामाई नगरपालिकास्थित झुर्किया हुँदै सिजुवा, सात्मेडी, आमबारी, उर्लाबारी, मधुमल्ला हुँदै पाँचथरको रवीसम्म पुग्छ ।

साढे ५ मिटर चौडाइको सो सडक करिब ३ करोड ८२ लाख रुपैयाँमा ठेक्कल लागेको सो मदन मार्ग करिब ४ किलोमिटर कालोपत्रे गरिएको हो । वर्षायाममा हिलो र अन्य समयमा निकै धूलो हुने सो सडक स्थानीय दुर्गा विष्टका अनुसार कालोपत्रे हुन्छ भनेर कल्पनासमेत गरिएको थिएन । सडक कालोपत्रे भएपछि यतिबेला स्थानीय निकै हर्षित बनेका छन् ।

त्यस्तै, मोरङ जिल्लाकै निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत ऐतिहासिक नगरी रंगेलीस्थित रंगेली साहू टोलदेखि बनकोल हुँदै श्री प्राथमिक विद्यालयसम्मको सडक कालोपत्रे गरेर सम्पन्न भइसकेको छ । सोही आर्थिक वर्षमा सम्झौता भएको सो सडक करिब ४ करोड ११ लाख रुपैयाँमा ठेक्का लागेर कालोपत्रे सडक निर्माण सम्पन्न भएको हो । सो सडक पौने चार मिटर चौडाइ र करिब साढे ३ किलोमिटर लम्बाइ रहेको डिभिजन सडक कार्यालयका इन्जिनियर दीपक झाले जानकारी दिए ।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत साबिकको बाहुनी गाविस वडा नम्बर–७ मूल नहर हुँदै रैझार डाँगीहाट गाविस सिमाना सडक कालोपत्रे गरी सम्पन्न भएको छ । आर्थिक वर्ष ०७१/०७२ मा ३ करोड ६५ लाख रुपैयाँमा सम्झौता भएको करिब पौने चार मिटर चौडाइ र करिब साढे ५ किलोमिटर सो सडक कालोपत्रे गरिसकिएको जनइएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वयरवन–मंगलबारे–हरकपुर सडकसमेत चालु आर्थिक वर्षमै कालोपत्रे सम्पन्न भएको छ । सोही आर्थिक वर्ष ०७१/०७२ मै करिब ३ करोड ८१ लख रुपैयाँमा सम्झौता भइ कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भइसकेको र सो सडक साढे ५ मिटर चौडाइ र करिब साढे चार किलोमिटर लम्बाइको कालोपत्रे सडक निर्माण सम्पन्न भएको इन्जिनियर नन्दकुमार गुप्ताले बताए ।

त्यसैगरी, सोही आर्थिक वर्षमा सम्झौता भएको निर्वाचन क्षेत्र नम्बर ८ अन्तर्गत सुन्दरपुर, डाँगी, दाहालचोक खदमखोला हुँदै साबिकको पार्टी गाउँ गाविस जोडिने करिब सवा ४ किलोमिटर लम्बाइ र साढे ५ मिटर चौडाइको कालोपत्रे पक्की सडकसमेत निर्माण सम्पन्न भएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत साबिकको विराटनगर वडानम्बर २, हुँदै मझारे–९, तरिगामासम्म करिब साढे ४ किलोमिटर लम्बाइ र पौने चार मिटर चौडाइको कालोपत्रे पक्की सडकसमेत निर्माण सम्पन्न भएको छ । सो सडक ४ करोड १२ लाख रुपैयाँमा निर्माण गरिने सम्झौता भएको थियो ।

त्यस्तै, सोही आर्थिक वर्षमा सम्झौता भएको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत झापा वैजनाथपुर–मिलनचोक–कटहरी सडक करिब ५ किलोमिटर लम्बाइ र साढे पौने चार मिटर चौडाइको कालोपत्रे पक्की सडकसमेत निर्माण सम्पन्न भएको छ । यो सडक करिरब ३ करोड ६५ लाख रुपैयाँमा निर्माण गरिने सम्झौता भएअनुसार कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । सडक कालोपत्रे र गुणस्तरीय भएपछि सो क्षेत्रका जनता निकै लाभान्वित भएका छन् ।

त्यसैगरी, आर्थिक वर्ष ०७१/०७२ मै सम्झौता भएको निर्वाचन क्षेत्र नम्बर ७ को विराटनगरको चक्रपथ सडकअन्तर्गत नेमुवा चोकबाट निर्माण सुरु गरिएको सो सडक करिब ५ किलोमिटर लम्बाइ र साढे ५ मिटर चौडाइको कालोपत्रे पक्की सडकसमेत निर्माण सम्पन्न भएको छ । सो सडक ४ करोड ९९ लाख रुपैयाँमा निर्माण गरिने सम्झौता भएको थियो ।

त्यस्तै, क्षेत्र निर्वाचन क्षेत्र नम्बर ९ अन्तर्गत मंगलबारे टाँडी सडक ४ करोड २० लाख रुपैयाँमा सम्झौता भइ कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भइसकेको डिभिजन सडक कार्यालय विराटनगरले जनाएको छ । कालोपत्रे गरिएको सो सडकको लम्बाइ ४ हजार २ सय मिटर रहेको छ भने चौडाइ साढे ५ मिटर रहेको छ ।

अहिले ती सडकहरू कालोपत्रे भएपछि विभिन्न सवारी साधनहरू सहज रूपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: