Nepali News Portal

धोती भैया (भाग १,२ र ३)

लेखक: नितेश कुमार राय

धोती भैया – भाग एक

नाम उनको खासैले वास्ता गर्दैनन्। उनको रिक्सामा चढेपछी उनलाई भैया भन्छन्, उनले भनेको भाडामा चित्त बुझेन भने धोती। धोती भैयाकी बहिनीले पनि उनलाई भैया नै भन्छिन् तर यि दुई भैयामा आगो र पानीको फरक छ। धोती नि उनले लगाउछन् तर सुरुवाल कसैको नाम सुन्या छैनन्।

विरबहादुर दाईको रिक्सा चलाऊने धोती भैयाको आठ बर्ष अघी भारतको बिहार राज्यकी युवतिसँग विवाह भएको थियो। उनले रिक्सा चलाएर दिनको चारसय रुपैया जती कमाउछन् जसमध्ये एकसय पचास रुपैया विरबहादुर दाईलाई दिनुपर्ने हुन्छ। आर्थिक अभावका बिच पनि उनले आफ्नो सात वर्सिय छोरालाई अंग्रेजी माध्यममा पढाई हुने विद्यालय पठाउँछन्।

अस्ती धोती भैयाको छोराले उनलाई हाम्रो पहाड कहाँं हो भनी सोध्यो। एकछिन् सम्म सोचेर धोती भैयाले मुकेशलाई हाम्रो पहाड त छैन भने। तर मुकेशले कक्षाभरी सबैको पहाड हुने हाम्रो नहुने तर्क राख्यो। धोती भैयाले हामी त सधैं यहीं बसेको हाम्रो पहाड छैन भने। मुकेशको मन छिया छिया भएरै होला मुकेश रुन थाल्यो।

मुकेशलाई यो बाहेक पनि धेरै समस्याहरु छन्। उसलाई क्रिकेट बहुत मन पर्छ। आफ्नो देशको क्रिकेट टिमले अन्तरराष्ट्रिय खेलहरुमा भाग नलिएको बेला उसले मामाघरको अर्थात भारतिय टिमको पक्ष लिन्छ र त्यसकारणले उसले थुप्रै साथीहरुको गिज्याइ सहनुपर्छ। धोती भैयासँग हिँड्न उसलाई बहुत लाज लाग्छ। एक त रिक्सा चलाऊने अर्को कुरा नेपाली राम्रो सँग बोल्न नआउने। अनी साथीहरुले उसको बुवाको पारामा नेपाली बोल्दा ऊ रुने गर्छ। एक महिना अघी जती त उसलाई ठुलै समस्या अाइपरेको थियो। धोती भैयाले हामी गोर्खाली हैन, भएको भए त मेरा बुवा हजुरबुवाले भनिहाल्थीए नि भनेका थिए। उता स्कूलमा शिक्षकले चाँही हामी नेपाली गोर्खालिको सन्तति हो भनेका थिए।

दस बर्षयता एक पटक नि रक्सी नखाएका धोती भैया आज भने भट्टिमा छन्। विरबहादुर दाईले अघी बिहान आजबाट तिमीले रिक्सा पाउँदैनौ भनी धोती भैयालाई रिक्सा दिएनन्। कुरो बुझ्दा त भर्खरै पहाडबाट सारा सम्पत्ती रक्सी खाएर सकेर तराइ झरेका धनबहादुर खड्काले पो त्यो रिक्सा पाएछन्। गोजिमा एक पैसा नभएपनि तिनी भट्टितिर लागे। एक बोतल रक्सी खाएपछी तिनले आफ्नो होस् गुमाए र अर्को बोतल मगाए। त्यो बोतल खाली भएपछी साहुनिले पैसा दिएर घर जान भनिन्। तर तिनिसँग पैसा थिएन। त्यसपछी साहुनिले यि धोती मदिसे बिहारीहरु यस्तै हुन्छन्, औकात नभए किन रक्सी खान आउनु; आफ्नो मर्स्याको औकात मा बस्नु नि नभए गर बिहारमा खानु भन्दै ठुलो स्वरमा गाली गर्न थालिन्। त्यो आवाज सुनेर साहुनिका श्रीमान र छोरा माथिल्लो तलाबाट ठुला ठुला पाखुराहरु सुर्कींदै आँखाहरु राता राता पार्दै तल झरे। धोती भैयाको नजर तिनिहरुको नजरसँग जुध्यो।

धोती भैया – भाग दुई

आँखाहरुबाट दन्दनायेका आगाका रापहरुले धोती भैयाका आँखालाई पोलिरहेका थिए। त्यसबखत बल्ल तिनले सम्झिये कि तिनको वास्तविक नाम त धोती भैया हैन। दिनभर रिक्सा चलाएर थकित मुद्रामा जब आफ्नो झुप्रो भएको गल्लीमा हातमा पोलिथिन ब्याग हल्लाउँदै हिंड्छन् तब धोती भैयालाई ए कालिदास कुर्मी, आज त धेरै नै कमाइस जस्तो छ भन्ने मानीसहरु नि छन्। मैथिली मिश्रित नेपाली बोल्दा नि तिनकै पारामा तिनलाई जवाफ दिएर गिज्याइ नहिंड्ने शिस्ट मानिसहरु नि तिनको रिक्सामा सवार हुन्छन्।

तर विभेदको तापले तब पोल्छ कालिदासलाई जब अस्ती शुक्रबार घटेको जस्तो घटना घट्ने गर्दछ। जती तिमीलाई ठीक लाग्छ त्यती भाडामा लगिदेउ भनेर दुई महिला तिनको रिक्सामा सवार भए। आफ्ना बलिया मांसपेसिहरुको बलमा रिक्सालाई अगाडि बढाइरहँदा रिक्सामा सवार कपालमा चस्मा लगाएकी महिलाले अली मोटो शरीर भएकी महिलालाई रामकिशोरको छोरा त कती ज्ञानी छ भनिन्। मेरो घर अगाडि अस्ती हिंडिरहेको थियो त्यो केटा अनी मैले उसलाई जा बाबु इमरानको पसलबाट मेरा लागि एक किलो मासु ल्याइदे भनेर पैसा दिएको थिएँ। ज्ञानी भएर ल्याइदियो। नभए अचेलका देसिका बच्चाहरु कहाँ त्यस्तो हुनु, आफ्नै काम छ भन्छन्। अझ बाबुआमा नि कस्ता हुन् काम छ भनेर भन्नु है भनी सिकाउँछन्।

कालिदासकी बहिनीको जीवन पनि कालिदाससँग बसुन्जेल गार्है तरिकाले बित्यो। तर उनले त्यस्तो कहिल्यै पनि ठानिनन्। सजिलो जिन्दगी बाँच्नै पाएकी थीइनन् त्यसैले होला। पाँच बर्ष अघी बिहे गराएर पठायेयता कालिदासको आर्थिक भार कम भएकै हो। कालिदासलाई आफ्नी बहिनीलाई शिक्षिका बनाउने ठुलो रहर थियो। तर उनकी बहिनिले पढाईमा ध्यान दिन सकिनन्। उनलाई गणित मनपरे पनि अरु सबै बिषयमा अनुत्तिर्ण हुन्थिन्। उनलाई नेपाली बुझ्न गार्हो पर्थ्यो। त्यसमाथी अंग्रेजि बुझ्न पहिला शिक्षकले बुझाएको नेपाली बुझ्नुपर्ने अनी बल्ल अंग्रेजि। यि नै कारणले होला उनले आफ्नो अध्ययन पाँच कक्षा भन्दा अघी बढाउन नसकी कालिदासको आस तोडेकी थीइन्।

कालिदासकी श्रीमतीले कहिल्यै सोचेकी पनि थीइनन् कि कालिदास भट्टि जानेछन्। आफुभन्दा बढी माया कालिदासलाई गर्ने उनी कालिदास घर नफर्किउन्जेल खाना नखाइ कुरी बस्छिन्। आज त चामल नि सकिएको छ। आज त अझ चामल लिएर चाँडै आउँछु भनी हिँडेका कालिदासलाई उनी ढोकामा बसेर कुरिरहेकी छीन्।

कालिदासका छोरा मुकेशलाई धेरै समस्याहरुले ग्रसित गरी नै रहेका छन्। आफ्नो कक्षाको सिर्श स्थानमा उभिएको मुकेशले एक तिक्ष्ण विद्यार्थीको रुपमा आफुलाई प्रमाणित गरिसकेको छ। अहिले उसले बुझ्नै नसकेको कुरा चाँही केही धेरै प्रयोगमा आउने शब्दहरुका अर्थ हुन्। उसका कोही साथीहरुले तँ नि नेपाली होस् भन्छन्। कोही साथीहरुले चाँही हामी नेपाली हो तँ चाँही मदिसे हो भन्छन्। कसैले हामी सबै नेपाली हो, तर हामी चाँही सुद्ध नेपाली तँ चाँही मधेसी नेपाली हो भन्छन्। फेरी उसले मधेसी र मदिसे को अन्तर बुझ्दैन। एउटा साथीले उसलाई एक दिन ईन्डियाले नेपाल लाई हेप्छ भन्यो। नेपाल संसारको सबसे शान्ती भएको देस हुन लाग्दा धोतीहरुले दियेनन्। अब ऊ धोती क-कसलाई, किन भनेको हो भनेर बुझ्दैन। कालिदासलाई पनि धोती भैया भन्छन्, फेरी भारतका मानिसलाई नि धोती भन्छन्। भनेपछी मेरो बुवा मदिसे धोती, मेरी आमा ईण्डियन धोतीनी अनी म नि पक्कै पनि धोती भन्न खोज्या हुन् यिनिहरुले सोचेर रिसाउँछ। धोती भन्ने शैलिबाट धोती भन्ने शब्दमा मिश्रित विष उसको मस्तिस्कले बुझेको हुन्छ।

यता भट्टिमा रिसको आगोमा बलिरहेका आँखाहरुलाई होस गुमाएका आँखाहरुले पढिरहेका हुन्छन्। आफ्नो, आफ्नी श्रीमती, बहिनी र छोराका अनुहारहरु उनको दिमागमा घुमिरहेका छन्। उनी आफु बसेको कूर्सिबाट सम्हालिँदै उभिन्छन्। पाखुरा सुर्किएर भर्खरै तल झरेका साहूनिका श्रीमान र छोरा पनि दुई पाइला अघी बढ्छन्। तर आफ्नो शारीरीक सन्तुलन गुमाएर धोती भैया कुर्सिमा थचक्क बस्छन्। उनका आँखाहरुबाट बरर आसुँ बग्न थाल्छ।

धोती भैया – भाग तीन

आसुँ बागाउनु बाहेक अरु के नै गर्न सक्थे र धोती भैया! खल्तिमा पैसा छैन। आफ्नो स्वाभिमान दुई बोतल रक्सिमा बेच्नुपरेको छ अहिले। अबको दुई हप्ता काम पाएर मिहिनेतले काम गरे भने भट्टिको बाँकी तिर्न सक्छन्। फेरी छोराको बिद्यालय शुल्क तिर्न र घर चलाऊन रिण लिनुपर्ने हुन्छ अनी त्यो रिण तिर्न फेरी अर्को रिण लिनुपर्ने हुन्छ। यो रिण-चक्र धेरै समयसम्म चल्नेछ। परिवार को सामुन्ने आफ्नो प्रतिश्ठा नि गुम्नेछ।

तर, स्वाभिमानी बन्ने मौका कहिले पो दियो र यो समाजले उनलाई!

दिनभरको सबै कमाइ यो बिहारिले सकिदियो, चौपट्टै पार्यो नि भन्दै साहुनी फेरी कराइन्। रिसले मुर्मुरिदै साहुनिको छोराले धोती भैयालाई धोती मु* भन्दै देब्रे गालामा दुई झापड लगाउँछ। धोती भैया कुर्सी सहित भुइँमा पछारिन्छन्। अझ कुर्सी नि भाँच्छस् जाँ* भन्दै खुट्टाले धोती भैयाको पेट्मा हान्छ। धोती भैयाले उल्टी गर्छन्। उल्टिको गन्धले भट्टिमा भएको रक्सिको गन्धलाई जित्छ। छि छि पुरै पसल नै गनायो नि भन्दै फेरी साहुनी कराउन थाल्छिन्। साहुनिको छोराले धोती भैयाको टाउकोमा आफ्नो खुट्टा बजार्नै लाग्दा साहुनिका श्रीमानले आफ्नो छोरोलाई रोक्छन्। बाहिर लग् यो धोतीलाई भन्दै साहुनी फेरी पनि कराउन थाल्छिन्। उनलाई पैसा डुबेको ठुलो पिर छ। साहुनिको छोराले खुट्टा समाएर धोती भैयालाई घिसार्दै बाटोपारिको ढलको नालामा धकेल्दिन्छ। साहुनीका श्रीमान फेरी माथिल्लो तलामा गएर टिभी हेर्न थाल्छन्।

साँझ परीसकेको हुन्छ। अब अँध्यारोको पालो। कालिदासकी श्रीमतीले एक सय एमएल को सिसीको स्टीलको बिर्कोमा प्वाल पारी धोतीको बाती राखेर बनाइएको मट्टीतेल राखेर बल्ने टुकी बाल्छिन्। अँध्यारो मेट्न। र फेरी कुर्छिन्। कालिदासलाई।

साहुनिको छोरोले शव-आसनमा ढलको नालामा पल्टिएका धोती भैयालाई एकटकले एकछिन् सम्म हेर्छ। ढलका ठोस वस्तुजती धोती भैयाको टाउकोले रोकेर तरल जतिलाई दुई भागमा चिरेको र दुई भागमा चिरिएको ढलको धोती भैयाको कानमुनी हुँदै हातहरु चुम्दै बगी पैतालापछी फेरी मिलन भएको अवलोकन गर्छ। त्यसपछी ऊ उठ्छ र धोती भैयाको निधारमा पर्ने गरी पिसाब गर्न थाल्छ। पिसाब धोती भैयाको निधारमा ठोकिएर अनुहार भरी परीरहेको हुन्छ। पिसाब गालाबाट बगेर फेरी ढलमा नै मिसिन्छ। धोती भैया सल्बलाउँछन्। अनी फेरी शव-आसनमा फिर्ता।

साहुनीको छोरा त्यसपछी आफ्नो हिरो होन्डा स्प्लेन्डर मोटार्साईकल मा सवार भएर धोती भैयाको घरतर्फ लाग्छ।

कालिदासको घर अगाडी आएर मोटरसाइकल रोकिन्छ। कालिदासकी श्रीमती कोठा बाहिर आउन नपाउँदै साहुनीको छोरा ढोकामा पुगिसकेको हुन्छ। आउनुस यहाँ बस्नुस् भन्दै आँगनमा भएको खटिया तर्फ देखाएर कालिदासकी श्रीमतीले मैथिलीमै स्वागत गर्छिन्। नेपाली बुझे पनि बोल्न चाँही उनलाई कठिनाई हुन्छ। तर खटियामाथी राखेको सामान हटाउन जान लागेकी कालिदासकी श्रीमतीको पाखुरा समातेर मेरो पैसा दे भन्दै साहुनिको छोरा जोड्ले चिच्याउँछ। रक्सी को गन्धले गर्दा कालिदासकी श्रीमतीलाई उल्टी आउन खोज्छ। मेरो पैसा दे मेरो पैसा दे मेरो पैसा दे भन्दै हरेक माँगसँगै उसको आवाज ठुलो भईरहेको हुन्छ। कालिदासकी श्रीमतीले केही पनि बुझ्दिनन्, डराउँछिन् र आफ्नो हात छोड्न अनुरोध गर्छिन्। हातमा लालटिन लिएर उभिएको मुकेश पनि डराउँछ। तेरो बुढोले पैसा कहाँँ राख्छ भन्ने प्रश्नले मुकेश र उसकी आमाको डरबिच ठाउँं पाउँदैन। मेरो मम्मीलाई छोड् भन्दै मुकेशले एक हातमा लालटिन लिएर अर्को हातले आफ्नी आमालाई तान्न थाल्छ। उसकी आमा रुन थाल्छिन्। साहुनीको छोरोले पैसा मागी नै रहन्छ र पैसा देखा भन्दै तानेर कालिदासकी श्रीमतीलाई कोठाभित्र लान्छ। हल्ला सुनेर कालिदासका छिमेकी जीतराम खड्का नि कालिदासको आँगनमा अाइपुगेका हुन्छन्। केही सिप नदेखी मुकेशले लालटिन साहुनिको छोरोतर्फ फाल्छ। तर लालटिन साहुनिको छोरोको कानछेउबाट गइ भित्तामा ठोकिएर फुट्छ। मट्टितेल छताछुल्ल हुन्छ। जीतराम पनि कोठाभित्र पुग्छन् र हात छोड् बुहारीको, सक्छस भने मसँग लड्, के चाहिएको छ मलाई भन् भनी आदेश दिन्छन्। रक्सिको गन्ध उनलाई नि आउँछ। कालिदासकी श्रीमतीको रुवाइ, मुकेशको डर र साहुनिको छोराको हातको पकड देखेर जीतरामले साहुनिको छोराको टाउकामा दुई मुड्की हान्छन्। उसले कालिदासकी श्रीमतीलाई टेबलतिर हुत्याइ जीतराम तर्फ फर्कन्छ। कालिदासकी श्रीमतीको टाउको मुकेश पढ्ने टेबलमा गएर ठोकिन्छ र उनी मुर्छित परेर भुइँमा लड्छिन्। टेबल माथि राखिएको टुकिले सन्तुलन गुमाउँछ र टेबलमाथी गूड्किदै भुइँमा खस्छ र फुट्छ। तर निभ्दैन। मुकेश आफ्नी आमा तर्फ दौडन्छ। जीतराम हतियार खोज्दै आँगन तर्फ आउँछन् जहाँं उनले भर्खरै चिरेर राखिएको चिरपट पाउँछन्। टेबलमुनी राखेको किताबकापीहरुमा आगो लाग्छ। आगो अत्यन्तै चाँडै धेरैतर्फ फैलिन्छ। मुकेश आफ्नी आमालाई तानेर बाहिर ल्याउन खोज्छ तर सक्दैन। नजिकै राखेको बाल्टिन लिएर ऊ सामुदायिक कलतर्फ पानी लिन दौडन्छ। आँगनमा जीतरामले साहुनिको छोराको टाउकोमा चिर्पट बाजार्छन्। चुइँ पनि बोल्न नसकी उ भुइँमा लड्छ। जीतरामले उसको टाउकोबाट रगत बगेको देख्छन्। उनले साहुनिको छोराको नाडी छाम्छन्। यत्तिकैमा उनले मम्मी मम्मी भन्ने मुटु टुक्र्याउने आवाज सून्छन्। मुकेशको एक बाल्टिन पानीलाई आगोले टेरेन। उ आगोले बलिरहेको ढोका भित्र छिर्न खोजिरहेको हुन्छ। गरीबको घरमा आगो धेरै चाँडो लाग्ने रहेछ। जीतरामले मम्मी मम्मी भनेर कराइरहेको मुकेशको लुगामा आगो लागेको देख्छन् र ढोका तर्फ दौडन्छन्। मुकेशलाई तानेर उसको शरीरको आगो निभाउँछन्। त्यत्तिकैमा धेरै गाउँलेहरु अाइपुगेका हुन्छन्। सबैको नजर बलिरहेको घरमा जान्छ र आगो निभाउने प्रयास गर्न थाल्छन्। आँगनमा जीतरामको पकडबाट मम्मी मम्मी भन्दै रोइरहेको मुकेश फुत्किएर आगोभित्र जान चाहन्छ। घर बलिरहेको हुन्छ। जीतरामका आँखा रसाउँछन्। दिमागले केही सोच्न सकेको हुँदैन। मन छिया छिया हुन्छ।

कसैले ख्याल नगरिरहेको साहुनिको छोराले आफ्नै रगतको सानो पोखरिमा अन्तिम साँस लिन्छ। जीतराम उभिन नसकी माटोमा बसेर रोइरहेका हुन्छन्। मुकेशले बलिरहेको घर भित्रबाट आफ्नो मम्मीलाई बाहिर ल्याउन भिडसँग लडीरहेको हुन्छ। गाउँलेहरु आगो निभाउने प्रयास गरिरहेका हुन्छन्।

साहुनी दिनभरको कारोबारको हिसाब गरिरहेकी हुन्छिन्। साहुनीका श्रीमान टिभी हेरीरहेका हुन्छन्।

कालो आकाशबाट कालो पानी परीरहेको हुन्छ। कालिदास बाहेक सारा संसार सुक्खा हुन्छ। सारा कालो पानी कालिदासमाथी मात्र परीरहेको हुन्छ। सपनामा लिप्त ढल-नालामा पल्टिएका कालिदासका आँखाबाट आसुँ झर्छन्। आफ्नी श्रीमतीको अनुहार अन्तिम पटक नहेरी।

मुकेश तड्पी नै रहन्छ।

यो पनि हेर्नुहोला:
Comments
Loading...