Nepali News Portal

बिजुली बेचेर अन्धकारमा राख्ने होइन, उज्यालो पार्न सक्ने कुशल व्यवस्थापक चाहिएको छ

-प्रदीप बास्तोला

 

विराटनगरका सभापतिसमेत रहेका भीम पराजुलीलाई अन्ततः नेपाली कांग्रेसले महानगरको उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दर्जन आकांक्षीलाई पछि पार्दै पराजुलीले मेयरको टिकट हात पारेका हुन् ।

विराटनगरका स्थायीय बासिन्दा पराजुलीले महेन्द्र मोरङ क्याम्पसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी विराटनगरमा सामाजिक मिलनसार तथा राजीतिक वृत्तमा प्रभावशाली नेताका रूपमा परिचित छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा केन्द्रीय समितिको गलत निर्णय अनि उम्मेदवार विवादकै कारण कांग्रेसले पराजयको सामना गर्नुपरेको थियो । यदि विराटनगर महानगरपालिकाको सबालमा पनि नेपाली कांग्रेसले भीम पराजुलीबाहेक अन्यलाई टिकट दिएको खण्डमा त्यो युवा वर्गलाई मान्य हुने छैन भनेर दबाब सुरुबाटै दिँइदै आएको थियो ।

‘हाम्रो विराटनगर–राम्रो विराटनगर, हामी सबैको विराटनगर’,
‘शान्ति–सुन्दर–स्वच्छ–हराभरा–विकसित र रोजगारयुक्त विराटनगर’ बनाउने इमान्दार संकल्पसहित युवा नेता भीम पराजुली चुनावी मैदानमा होमिएका छन् ।

मैले बुझेअनुसार पराजुली आफैंमा नेतृत्व क्षमता भएका र विकासप्रेमी युवा नेता हुन् । उनी नगरवासीसँग सँगसँगै रहेर तथा हातेमालो गरेर काम गरेका युवा हुन् । विशेष गरी उनी युवा वर्गका विश्वासका धेरोहर पनि हुन् । उनीबाट विराटनगरले थुप्रै आशा राखेको छ ।

अहिलेका युवामा यति समय छ– जो पृथ्वीनारायण शाहले के सही गरे, के गलत गरे भनेर विश्लेषण गर्दै बसेका छन् । जसलाई भविष्यको योजनाभन्दा विगतको विश्लेषणमा बढी चासो छ । तसर्थ, अब पछाडि फर्कनेभन्दा अगाडि बढ्न जरुरी छ । अब हाम्रो पुस्ताले छाती पिटेर यो देश मलाई चाहिएको छ अनि मेरो पुस्तालाई चाहिएको छ भन्न सक्नुपर्छ ।

खेलमा एउटा अघोषित नियम हुन्छ, खेलाडीले प्रायः जीवनमा एकदमै राम्रो खेलिरहेको बेलामा खेलबाट सन्यास लिने गर्छन् । जसले गर्दा उनीहरू जीवनभर सफल रहिरहेको अनुभूत सबैले गर्छन् । अहिलेसम्मको योगदान अनि संविधान लेखनको यात्रासँगै हाम्रो शीर्ष नेतृत्वले विश्राम लिनु जरुरी छ । नयाँ पुस्ताको सक्षम नेतृत्वलाई सत्ता हस्तान्तरण गरेर अभिभावकको जिम्मेवारी निर्वाह गर्नु जरुरी छ ।

भीम पराजुली जुन पार्टीका प्रतिनिधि हुन्, त्यो मतलबको विषय होइन । उनको जित–हार आफ्नो ठाउँमा छ । तर, यहाँ नयाँ पिँढीमा संस्कार बसाल्नु जरुरी छ ।

हालका केही सक्षम नेतृत्वलाई पनि ‘अपडेट’ अनि ‘अपग्रेड’ गर्न जरुरी छ । अब त्यस्तो नेताको खाँचो छ, जसले आफ्नो कार्यालयमा झुन्डिएको नेताको तस्बिर अनि इतिहासको ब्याजको राजनीतिभन्दा पनि देशको भविष्यको कल्पना अनि योजनाको राजनीति गर्न सकोस् ।

अहिलेको नेतृत्वले अब देश अगाडि लान सक्दैन । प्रगति गर्न सक्ने इच्छाशक्ति भएको नेतृत्व आवश्यक छ । तर, हालको नेतृत्वसँग न तयारी छ, न त नीति नै । राजनीतिमा सम्झौता गर्न, लेनदेन गर्न तथा परिआएको खण्डमा उचित समयमा उचित निर्णय लिन नसक्ने यस्ता नेतृत्वले अबको पुस्तालाई नेतृत्व दिन सक्दैन । देश हाँक्न सक्दैन ।

नेतृत्व दूरदर्शी र नतिजामुखी हुनु जरुरी छ । आफ्नो स्वार्थका लागि बिजुली बेचेर जनतालाई अन्धकारमा राख्ने नेतृत्व होइन, उज्यालो पार्न सक्ने कुशल व्यवस्थापक चाहिएको छ । जो अपेक्षा महानगरवासीले गरेका छन् । त्यो पूरा गर्न नेतृत्व दृढ हुनुपर्छ । त्यसलाई हामी युवाको साथ रहने छ ।

विराटनगर महानगरमा थुप्रै समस्याहरू छन्, तिनीहरूलाई अब आउने प्रतिनिधिहरूले पूरा गर्ने आशा छ । अबको विराटनगर ‘हाम्रो विराटनगर, राम्रो विराटनगर’ अनि हामी ‘सबैको विराटनगर’ जस्ता समावेशी र विकासशील नारा र एजेन्डा बोक्नेलाई भोट दिऊँ ।

अबका दिनमा विराटनगर महानगरले उठाउनुपर्ने मुद्दाहरू:

हरित सहर ः यसका लागि निश्चित स्थानमा डस्टबिनको व्यवस्था, फोहोर संकलनको राम्रो व्यवस्था, घरअगाडि फोहोर गर्नेलाई कारबाही, एक घर–एक रूख, एक चोक–दुई रुखलगायत कार्यक्रम ल्याएर बृहत् वृक्षारोपणमार्फत् सहरलाई पुनः हरित सहरको रूपमा विकास गर्नुपर्छ ।

ट्राफिक समस्या समाधान ः विराटनगरको मुख्य सडक चौडा पार्ने योजना र ढल निकास चालु रहेकाले यो सहर काठमाडौंजस्तै धुलो र हिलोको सहर भए पनि यी योजनापछि धुलो र हिलो सहरको पहिचान बन्ने छैन । साथै, यसले निम्त्याएको ट्राफिक जामको समस्या पनि स्वतः हट्ने छ ।

यद्यपि, विराटनगरको समस्या सवारी साधनको द्रुत गति हो । सवारी साधनको गति घटाउनेभन्दा पनि लेन र ओभर–टेक अनुशासन कडाइका साथ पालना गराउनुपर्छ । भित्री सडकको पिच ५ वर्षभित्र विराटनगरका सबै भित्री सडक पिच हुनुपर्छ ।

हस्पिटल लाइनको व्यस्थापन: गल्ली नै पिच्छे खुलेका ल्याब, क्लिनिक तथा कमजोर व्यस्थापनले गर्दा कोसी अञ्चल अस्पताल परिसरलगायत सम्पूर्ण हस्पिटल रोडको क्षेत्र व्यवस्थित पार्दै नमूना मार्गको रूपमा विकास गर्नु पनि आवश्यक छ ।

अन्य ः सहिद रंगशालाको व्यवस्थापन, बैजनाथपुरको क्रिकेट रंगशालाको निर्माण तथा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिययस्तरका खेलहरूको एकेडेमी सञ्चालन, मनोरञ्जनका लागि सरकारी स्थानमा पार्कहरूको निर्माण तथा सार्वजनिक निजी साझेदारीमा थप मनोरन्जनस्थल निर्माण साथै सुविधा सम्पन्न आधुनिक प्रदर्शनी मार्गको निर्माण, ठूल्ठूला सुविधा सम्पन्न नगर बस सञ्चालन अबको चरणमा महानगरका विकासका एजेन्डा बन्नुपर्छ ।

त्यस्तै, विस्थापित टेम्पो र रिक्सा चालकको रोजगारी सुनिश्चित गर्ने, सहर प्रवेशद्वारनजिकै सुविधा सम्पन्न बसपार्क निर्माण, प्रत्येक वडामा सरकारी क्लिनिक तथा सरकारी फार्मेसी, विराटनगर वरिपरिका गाउँबाट महानगर आफैंले उत्पादित खाद्यवस्तु किनेर, आधुनिक कृषि प्रविधि सञ्चालन गर्ने, प्रत्येक वडामा व्यव्स्थित खाद्य पसल सञ्चालन गर्नेजस्ता विषय पनि अब आउने विराटनगर महानगरका आवश्यकता हुन् ।

त्यसैगरी, रेल्वे नेटवर्कका लागि चाँडोभन्दा चाँडो साम्भाव्यता अध्ययन, यहाँ लाग्ने हटियाहरूलाई सफा एवं व्यवस्थित गर्ने, विराटनगरको सडक साइकल यात्रुमैत्री सहर बनाउन पनि अब आउने निर्वाचित जनप्रतिनिधिले प्रमुख एजेन्डा बनाए मात्र विराटनगर महानगर जो कोहीका लागि पनि बस्नयोग्य सहर हुनेछ । तब मात्रै महानगर समृद्धिको बाटोमा अघि बढ्ने छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...