Nepali News Portal

रोइरहेछ मेरो सहर

 बाबुराम पन्थी ‘गुल्मेली’
बिहानीको मधुर किरणभन्दा पहिले
मेरो सुन्दर सहरको मुटुहरूमा
आफूलाई सहरीया
बताउनेहरूको चर्तिकला
फोहोरका पोकाहरू
राति रित्याएका खÞाली बोतलहरू
आफ्नै घरअगाडिको चोकमा
जम्मा पारिदिन्छन्
कसैले नदेख्ने गरी
थुक्क !
मानवता गुमाएका मनहरू
लाज गुमाएका अनुहारहरू
चेतना गुमाएका बौद्धिकहरू
फोहोर थुपार्ने डम्पिङ बन्नुपर्दा
रोइरहेछ मेरो सहर !

सहरको स्वरूप बदल्न राजनीति गर्नेहरू
दोपहरको समयमा अवरोध गर्दै
मेरो सहरको मुटु–मुटुमा
टायर जलाएर
बाटोको डिभाइडर भत्काएर
चुनाव प्रचारमा झुन्ड्याएका
दलका झण्डा र चुनाव चिह्नले कुरूप बनाई
वितण्ड मच्चाउँदै राजनीति गर्नेहरूदेखि
विक्षिप्त भएर
रोइरहेछ मेरो सहर !

अन्तिम भरोसा भविष्यको
त्यो विद्यार्र्थी
आज सहरका भित्ताहरूमा
सुन्दर सहरको चित्र कोर्नुको बदला
कुरूप बनाउँछन् तथानाम
राजनीतिक दाउपेचका नारा लेखेर
कलेजका लाइब्रेरीहरूमा आगो दन्काउँदै
उत्सव मनाउने त्यो विद्यार्थीबाट
आशा भरोसा कसरी राखौं ?

सरकार कर बढाइरहेछ जनतासँग
सहरको मुहार फेर्न भन्दै
त्यो दिनको पर्खाइमा थिचोमिचो सहँदै
झिनो आशामै
अवाभ, उदासीन, मलिन भएर
अवोध शिशुजस्तै उद्धार माग्दै
रोइरहेछ मेरो सहर ।
०००

यो पनि हेर्नुहोला: