Nepali News Portal

मोबाइल फोन सबैका लागि अतिआवश्यक बन्दै

किशोर विश्वकर्मा
विराटनगर, जेठ ९
यतिबेला मोबाइल फोनको प्रयोग व्यापक रूपमा भइरहेको छ । करिब डेढ दशकअघि ठूला घरानाका व्यक्तिले मात्र प्रयोग गर्ने मोबाइल फोन अहिले सर्वसाधारण जो कोहीको हात–हातमा देखिन्छ ।

विद्यालयका विद्यार्थीदेखि कलेज पढ्ने विद्यार्थीले मात्र मोबाइल फोनको प्रयोग गर्दैनन् । अहिले जो कोहीले पनि यसको प्रयोग गर्ने गरेका छन् । सञ्चारको विकाससँगै मोबाइल फोनले सञ्चारमा सजिलो पारिदिएको छ । केही वर्षअघि मोबाइल नहुँदा सर्वसाधरणले फोन गर्न घण्टौं घण्टासम्म धाउनुपर्ने बाध्यता थियो ।

त्यसमा पनि कहिले पालो आउला भनेर बकुल्लाले माछा कुरेजस्तो गरेर कुरिरहनुपर्ने बाध्यता थियो । वैदेशिक रोजगारीमा गएका आफन्तसँग कुरा गर्न निकै कष्ट सर्वसाधारणले भोग्नुपरेको थियो त्यसबेलामा ।

अझ विकट पहाडी क्षेत्रमा त फोनमा कुरै गर्नका लागि ३ दिनसम्मको बाटो धाउनुपर्ने बाध्यता थियो । तर, अहिले सुन्दा जो कोहीलाई पनि कथाजस्तो लाग्नसक्छ । अहिले भने मोबाइलको प्रयोग केवल कुराकानीमा मात्र सीमित छैन, घर बसी–बसी सूचना प्राप्त गर्ने, विभिन्न एप्सको मदतले घर बसेरै विभिन्न किसिमका सेवा लिने, गीत–संगीत सुन्न सकिने, भिडियो र तस्बिर हेर्न–खिच्न सकिनेसम्मको सुविधा आइसकेको छ ।

त्यसैगरी, सामाजिक सन्जालमार्फत स्वदेश तथा विदेशमा सजिलै सम्पर्क र कुराकानी गर्न सकिन्छ भने पछिल्लो समय घरै बसी–बसी बैंकिङ कारोबारसमेत मोबाइलबाटै गर्न सकिने समय आइसकेको छ । जसले गर्दा अहिले संसरलाई नै मोबाइल फोनले साँघुरो पारिदएको छ ।

बजारमा अहिले विभिन्न ब्रान्ड, नोकिया, सामसुङ, सोनी एरिकेसन, लाभा, एप्पो, जेडटिइ, जिओनी, लेनेभो, एलजी, माइक्रोम्याक्सलागयत थुपै्र कम्पनीले उत्पादन गरेका मोबाइल सेट पाइने गरेको छ । यी कम्पनीले उत्पादन गरेका मोबाइल सेटले लेन्डलाइन फोनको प्रयोगमा करिब ९० प्रतिशत कमी ल्याएको छ ।

मोबाइलबाट जति टाढा भए पनि र जहाँ जुन ठाउँमा भए पनि तुरुन्त सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष कुरा गर्न सकिन्छ । मोबाइलको प्रयोगले आफूलाई निकै सजिलो भएको बताउँछन्, विराटनगरका प्रकाश रायमाझी । अहिले तीव्र प्रतिस्पर्धाका कारण मोबाइल कम्मनीले दिनहुँजसो नयाँ–नयाँ सेट बजारमा ल्याउने गरेका छन् । केही वर्षकै फरकमा अहिले समाज निकै आधुनिकतामा पसिसकेको छ ।

त्यसो त मोबाइल फोनमा सिम प्रयोग नगरी सेवा लिन सकिन्न । मोबाइलको मुटु अर्थात् सिमको प्रयोग नेपाल टेलिकमको नमस्ते, एनसेल प्रयोग हुने गरेको छ । बेला–बेलामा प्राविधिक कारणले मोबाइलमा समस्या पनि आउने गरेको छ । तर, पनि मोबाइलको प्रयोग निकै बढेको छ ।

हाल विराटनगरमा मात्र दैनिक सयौं थान मोबाइल सेट बिक्री हुने गरेको छ । मोबाइल फोनको प्रयोग व्यापक मात्रामा भए पनि खुला सिमाना र सरकारले लगाउने करका कारण व्यवसायमा समस्या भएको व्यपारी जगदीश डागाको भनाइ छ । सस्तोमा पाइने मानसिकता अनि खुला सीमाका कारण मोबाइल फोन नेपालमा भन्दा भारतको जोगवनीमा सर्वसाधारण गएर खरिद गर्ने गरेका छन् ।

त्यसो त कुनै पनि सामान जोगवनीबाट ल्याउन सरकारले कडाइ गरेकै छ । तैपनि, मोबाइल सेट सानो आकारको हुने भएकाले खल्तीमै हालेर ल्याउने गरेको अवस्थामा भन्सारले यसमा कडाइ गर्न सकेको छैन । जसका कारण विराटनगरका मोबाइल व्यवसायी निकै मारमा परेको ए टु जेड मोबाइल पसलका सञ्चालक जगीदश डागा बताउँछन् ।

त्यसैले मोबाइल फोन खरिद गर्दा नेपालमै खरिद गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउनु जरुरी छ । सरकारले पनि भन्सारमा कडाइ गर्नु निकै जरुरी देखिएको छ ।

अहिले मोबाइल फोनको प्रयोग सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले पनि सहजताका लागि अनिवार्य पारेका छन् । समग्रामा अलिकति खर्चिलो भए पनि मोबाइलले सबैलाई निकै फाइदा पु¥याएको छ ।

यो पनि हेर्नुहोला: