fbpx

‘जीवनका थकानहरू मेटाउन कविता लेख्छु’

चित्रकार कवि चन्द्र रानोहँछाको कविताकृति ‘थिबिया चराको गीत’ केही समयअघि प्रकाशनमा आएको छ । उक्त कृतिले गत वर्षको ‘छत्र–विष्णु राई कृति पुरस्कार’ पायो, पन्ध्र हजारको थैलीसहित । यही सेरोफेरोमा रहेर चन्द्र रानोहँछासँग प्रवीण बानियाँले गरेको कुराकानी :

बजारमा ‘थिबिया चराको गीत’ले राम्रै चर्चा पायो नि, कस्तो लागिरहेको छ ?
कस्तोलाई राम्रो चर्चा भन्ने ? आलोचनालाई कि प्रंशसालाई ? या सम्मान–पुरस्कारलाई ? म यसलाई चर्चाभन्दा पनि प्रतिक्रिया भन्न रुचाउँछु । यौटा इमान्दार कविका निम्ति जुनसुकै कोणबाट प्राप्त आलोचना या टिका–टिप्पणी जहिल्यै महत्त्वपूर्ण हुन्छन्, त्यसलाई ग्रहण गर्न र व्यवस्थापन गर्न सक्नुपर्छ । बाँकी कुरा त काम गरेपछि परिणामहरु निस्कन्छन् नै, उपस्थितिले धेरथोर स्पेस लिइहाल्छ, त्यो आमकविको हक हो ।

यौटा कविका निम्ति पुस्तक प्रकाशनअघि र पछिको अवस्थाले के फरक पार्दोरहेछ ?
कवितासंग्रह प्रकाशनपूर्व यौटा कवि कविताको पाठक मात्र हुन्छ, उसलाई कविताको बजारले छोइसकेको हुँदैन । तर कृति प्रकाशनपछि ऊ पाठकीय कठघरामा प्रस्तुत हुन्छ । उसलाई काव्यिक जिम्मेवारीले लखेट्न थाल्छ । अर्थात्, यसो भनौं जसरी यौटा स्वतन्त्र युवकले विवाहपछि अझ बाबु भएपछि अनिवार्य व्यवहारिक दायित्वहरुको घना जंगल छिचोल्दै हिँड्नुपर्छ । ठीक त्यसरी नै म पनि यतिखेर अवसर र चुनौती दुवैलाई दायाँ–बायाँ भिरेर कविताको कठिन यात्रामा हिँडिरहेको छु ।

तपाईंको कृतिले भर्खरै १५ हजार राशिको पुरस्कार पायो । पुरस्कार–सम्मानले कस्तो महत्व राख्दारहेछ ?
साहित्यका नाममा हामीकहाँ दिइने पुरस्कार–सम्मानहरु प्रायः विवादित हुने गर्छन्, यो दुर्भाग्य हो । कतिपय अवस्थामा पुरस्कार राम्राले नपाउँदा त्यो खराबले हात पार्छ, त्यो झन् खतरा हो । जहाँसम्म मैले पाएको पुरस्कारको सबाल छ, म त्यो पुरस्कारको हकदार थिएँ कि थिइँन भनेर नापजाँच गर्ने काम अरुको हो । जे होस्, यो पुरस्कारले मेरो काँधमा गह्रौं भारी बोकाइदिएको छ । यो भारी (प्रोत्साहन) मेरो काव्यिक सम्पत्ति र ऊर्जा दुवै हो । ।

तपाईं काठमाडौं नआएर खोटाङै रहिरहनुभएको थियो भने जीवनले कुन बाटो लिन्थ्यो होला, अनुमान गर्नुहुन्छ ?
वास्तवमा यौटा स्रष्टाका लागि ठाउँ र परिवेशले फरक त अवश्य पार्छ । यद्यपि, यदि म गाउँमै बसेको थिएँ भने पनि कुनै सुन्दर रुप धारण गरेर आफैँले निर्माण गरेको स्पेसबीच निर्धक्क उभिन्थें, जुन चर्चाको हिसााबमा बीसको उन्नाइस हुन सक्थ्यो ।

पेसाले तपाई चित्रकारिता गर्नुहुन्छ, रंङ र कविता यी फरक दुई चिजसँग खेलिरहँदा कस्तो अनभूति गर्नुहुन्छ ?
कस्तो राम्रो प्रश्न ! यी दुवै चिजसँग खेलिहरँदा मलाई आफ्नै कलिला नानीहरुसँग खेलिरहेको आभास हुन्छ । तैपनि, व्यवहारिक उत्तर दिनुपर्दा म आफू पेसाले रङ कलाकार हुनुको अर्थमा बाँच्न र बचाउँन चित्रकारिता गर्छु । र, बाँच्नु पछाडिका सहस्र थकानहरु मेटाउन चाहिँ कविता लेख्छु ।

तपाईंले गीत गाउनुभयो । गीत, कथा पनि लेख्नुभयो । त्यतै नअडिएर कवितामै आउनुभयो नि, किन ?
सिर्जना वा कलाका सबै विधाहरु एक स्रष्टाका अभिन्न रङहरु हुन् । तर, ती रङ (विधा) हरुमध्ये कुन चाहिँ बढी गाढा छ भन्ने स्रष्टा स्वयंले पहिचान गर्न सक्नुपर्छ । यसर्थ, गीत, कथा वा कवितामध्ये मलाईचाहिँ मेरा विधा कवितै हो भन्ने लाग्यो । र, यतिखेर यसैलाई खेलाइरहेको छु । तर, कथा र गीतलाई पनि मेटिन दिएको छैन ।

समकालीन नेपाली कविताको अनुहार कस्तो देख्नुहुन्छ ? जे छ, त्यो पर्याप्त छ कि अपुग छ ?
यो मेरा लागि जटिल तर महत्त्वपूर्ण प्रश्न हो । हो, नेपाली कविता अहिले पुरानो घेरा तोड्दै नयाँ बाटोमा हिँड्ने तयारीमा छ । तर, कवितालाई नयाँ बाटोमा हिँडाउने कि पुरानै गल्लीबाट घिसार्ने भन्ने द्वन्द्व यद्यपि छ । केही कविहरु अझै पनि पुरानै फम्र्याटमै रमाइरहेका छन्, त्यो चिजले हाम्रो कवितामा नयाँ कुराको आगमनमा अवरोध र निषेध तुल्याउँछ । कवितामा नयाँपन खोजिरहेकाहरुले अबको कविताको नेतृत्व सतर्कतातापूर्वक गर्नुपर्छ । सही र सापेक्ष चिज पूर्ण अस्तित्वमा आएपछि खराब कुरा स्वतः विस्थापित हुन्छ, विकासको अनिवार्य प्रक्रिया हो ।
***

Koshi Online

FREE
VIEW