Nepali News Portal

म्यानचेस्टर युनाइटेडलाई इन्जुरी समयमा इब्राहिमोबीचले जोगाए

विराटनगर, चैत २३
इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा जाल्टन इब्राहिमोबीचले म्यानचेस्टर युनाइटेडलाई सम्भावित हारबाट जोगाएका छन् ।

लिगअन्तर्गत घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई एभर्टनसँग १–१ को बराबरीमा रोकिन ठूलै संघर्ष गर्नु परेको थियो ।

खेलको इन्जुरी समयसम्म १–० ले पछि परेको युनाइटेडलाई इब्राहिमोबीचले गोल गर्दै हार्नबाट उद्धार गरेका हुन् । खेलको २२औं मिनेटमा फिल यागियेल्काले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ९४औं मिनेटमा पाएको पेनाल्टीमा इब्राहिमोबीचले युनाइटेडका लागि बराबरी गोल गर्दै हारबाट जोगाए । इब्राहिमोबीचले यो सिजन युनाइटेडबाट सबै प्रतियोगितामा गरेर २७ गोल गरिसकेका छन् । जित निकाल्न नसके पनि युनाइटेडले आफ्नो अपराजित यात्रा भने २० पुर्याएको छ ।

युनाइटेड यो सिजन लिगका १२ खेलमा बराबरीमा रोकिएको छ । बराबरीपछि पाँचौं स्थानको युनाइटेडको २९ खेलबाट ५४ अंक जोडेको छ । ऊ चौथो स्थानको म्यानचेस्टर सिटीभन्दा ४ अंकले पछि छ । सातौं स्थानको एभर्टनको ३१ खेलबाट ५१ अंक पुगेको छ ।

यो पनि हेर्नुहोला: