Nepali News Portal

‘पृथ्वी जयन्ती’मा सरकारले सार्वजनिक बिदा नदिएकोमा सामाजिक सन्जालमा सरकारको चर्को आलोचना

कोशी अनलाइन
विराटनगर, पुस २७ ।
आधुनिक नेपालको एकीकरणको श्रेय पाएका पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै सामाजिक सन्जालमा सरकारको आलोचना सुरु भएको छ । न्यून संख्यामा क्रिश्चियन रहेको देशमा क्रिसमस डेका दिन साँझमा बिदा घोषणा गर्ने सरकारले आधुनिक नेपालको एकीकरण गर्ने पृथ्वीनारायणको जन्मजयन्तीमा बिदा नदिएर उनको योगदानको बेवास्ता गरेको भन्दै सरकारको चर्को आलोचना सुरु भएको हो ।

केही समयअघि सरकारले क्रिसमसको अघिल्लो दिन साँझ विज्ञप्ति निकालेर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको त्यस्तो नजीर देखेका नेपालीलाई लागेको थियो– पुस २७ गते पृथ्वी जयन्तीमा पनि सरकारले बिदा दिन्छ ।

तर, मंगलबार बेलुकासम्म पनि सरकारको त्यस्तो निर्णय कुरेर बसेका थुप्रै नेपाली निराश भए । क्रिसमस डेका दिन साँझ परेपछि सार्वजनिक बिदाको घोषणा गर्ने सरकारले आधुनिक नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिन उचित ठानेन । र, यसले थुप्रैलाई निराश बनायो ।

मंगलबार साँझसम्म पनि गृह मन्त्रालय कानमा तेल हालेर बसेपछि पृथ्वी जयन्तीमा बिदा कुरेर बसेका ठूलो संख्याका नेपाली निराश भएका हुन् ।

सरकारको क्यालेन्डरमा क्रिश्चिनहरूको महान् पर्व क्रिसमस डेमा राष्ट्रिय बिदा लेखिएको थिएन । तैपनि, उक्त दिन सरकारले दबाबमा परेर सबैका लागि बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय मन्त्रीपरिषद्को बैठकबाट नभई गृहमन्त्रीबाट भएको थियो ।

तर, क्रिश्चियन धर्मावलम्बीभन्दा पृथ्वीनारायण शाहलाई मान्ने नेपाली ठूलो संख्यामा रहेको देशमा उनको जन्मदिनमा सरकारी बिदा दिन सरकारले गरेको कन्जुस्याइँबाट सामाजिक सन्जालहरूमा सरकारको आलोचना भइरहेको छ ।

आधुनिक नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई सरकारले बेवास्ता गरेको भन्दै सामाजिक सन्जाल प्रयोगकर्ताले सरकारको आलोचना गरिरहेका छन् ।

यो पनि हेर्नुहोला: