Nepali News Portal

मुसहर बस्ती निर्माणका लागि सहयोग जुट्दै, समिति नै बनाएर सहयोग अभियान

बर्दिबास, पुस १९ ।
महोत्तरीको बर्दिबास–२ को मुसहर बस्तीलाई नमूना बस्ती बनाउने घोषणा गर्ने हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे सुन्तली) को धुर्मुस–सुन्तली फाउन्डेसनलाई स्थानीय पशुपतिनगरका तरकारी उत्पादक किसानले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

फाउन्डेसनको घोषणालाई सघाउन नमूना मुसहर बस्ती निर्माण सहयोग समिति नै गठन गरेर आफ्नो बस्तीमा स्वेच्छिक सहयोग संकलन गरिएको समिति संयोजक सुरजसिंह कुशवाहाले जानकारी दिए ।

यसैगरी, बर्दिबास–२ का सामाजिक कार्यकर्ता गोविन्द पौडेलले २५ हजार, नेपाल पत्रकार महासंघ महोत्तरीबाट ११ हजार र सञ्चारकर्मी राजकरण महतोबाट १० हजार रुपैयाँ सहयोग जुटेको फाउन्डेसनका कार्यक्रम संयोजक अर्जुन न्यौपानेले जानकारी दिए ।

त्यस्तै, बर्दिबास अस्पतालका स्वास्थ्यकर्मी तथा गीतकार जीवनाथ पोखरेलले नमूना मुसहर बस्ती बनाउन बर्दिबास क्षेत्रका कर्मचारीले अभियान नै सुरु गरेको बताए । बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले त भौतिक सहयोग मात्र नभई आपूm बस्ती निर्माणमा श्रमदानसमेत गर्ने बताइसकेका छन् ।

फाउन्डेसनले एकीकृत मुसहर नमूना बस्ती निर्माण गर्ने घोषणा गरेसँगै महोत्तरी र अन्य क्षेत्रबाट बढेको सकारात्मक चासोले उत्साहित बनाएको न्यौपानेले बताए ।

यसैबीच, मुसहर बस्तीका पुराना घरटहरा हटाएर त्यहाँका बासिन्दालाई पालमा सार्ने काम सकिएको छ । सडक, बिजुली, खानेपानीसहितका पूर्वाधारको बाल, अपांग, वृद्धवृद्धा र वातावरणमैत्री नमूना बस्ती निर्माणको शिलान्यास पुस २५ गते गरिने छ ।

फाउन्डेसनले ०७४ सालको नयाँ वर्षकै दिन ५० घरपरिवारका मुसहरलाई नयाँ वर्षको उपहारस्वरूप नयाँ घर हस्तान्तरण गर्ने जनाइएको छ ।
-रासस

यो पनि हेर्नुहोला: