अनलाइन सपिङमा मनपरीः दर्ता छैन, भाउ बढी

काठमाडौं, पुस ११ ।
दुई साताअघि रामकोटका प्रवेश शर्माले स्पोन्सर्ड एड गरिएको फेसबुक पेज ‘एज सिन अन युट्युब’मा कपडा राख्ने दराज र दाह्री काट्ने मेसिन देखे । घरमै पुर्याइदिने विज्ञापन देखेपछि फोन गरे । सामान मगाए ।

उनले सामान त पाए, बिल पाएनन् । उनले खरिद गरेको दराजमा लक गर्ने बोल्ट पूरा थिएन ।

घरमै बसेर सपिङ गर्दा सजिलो हुने भएको भन्दै सामान मगाएका शर्माले मूल्य पनि महँगो, सामान पनि ड्यामेज र त्यसको बिल पनि नपाएपछि आफू ठगिएको महसुस गरे । उनले त्यसपछि उनले सामान साट्न अफिसको खोजी गरे । तर, पाएनन् ।

शर्माले दराजलाई ३ हजार रुपैयाँ तिरेका थिए । जबकि, उनले त्यस्तै सामान न्युरोड क्षेत्रमा २ हजार ८ सय रुपैयाँमा किनेका थिए । आजको नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ ।

यसरी अनलाइन सपिङमा मनलाग्दी हुँदा पनि नियमनमा आउन सकेको छैन । राजस्व कार्यालयका महानिर्देशक चुडामणी शर्माले यस विषयमा सामान्य छलफल भए पनि कुनै ठोस काम नभएको स्वीकार गरे ।

यद्यपि, अनलाइन सपिङलाई लिएर जनगुनासो बढिरहेकाले आफूहरूले भविष्यमा यसबारे नीति तथा कानुन बनाएर अघि बढ्ने सोच बनाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: