fbpx

साइनो बेच्ने केटी

| कृष्णपक्ष |

 

मार्च १६, २०१० राम्ले कारागार, इजरायल ।

प्रिय आविया,
हाम्रो भेट एउटा संयोग । कारणवश प्रेमको विनिमय गरेका छौं हामीले, यो मुलुकमा चाहेर वा नचाहेर । यद्यपि, म यो भन्न विवश भएको छु कि– आविया, हामीबीच भएका अन्तरंगका अनमोल पलहरू, तिम्रो स्पर्श र देहको न्यानोपन, मेरो अनुभूतिको घरमा काउकुती बनेर यसरी थुप्रिएको छ, जति पन्छाए पनि नपन्छने । तिमीसँगको औपचारिकता या केही भेटहरू मात्र पनि मेरो निमित्त प्रेमको अविस्मरणीय उदाहरण बनेका छन् ।

हरेकपटक आउँदा–जाँदा मेरो अधरको क्यानभासमा तिम्रो ओठको स्पर्शले रंगाएर गएका कोमल चित्रहरू स्मृतिभरि भरि कुँदिएर बसेका छन् । औपचारिकतामै किन नहोस्, तिमीसँगका प्रत्येक संवादहरू संगीत भरिएर कतै गुन्जिएको म सुनिरहन्छु । तिम्रै शव्दमा भनूँ– तिमीलाई असाध्य मिस गर्न थालेको छु म ।

तिमी भन्न सक्छौ– म प्रेमको नाटक गर्दैछु या तिमीलाई बहकाउने कोसिस । तर, जे भन आविया ! केही दिनयता मलाई यस्तै भएको छ, जुन हामीबीच हुनुहुँदैन थियो ।
०००

पत्र लेखिनसक्दै एकपटक पढ्छ र फेरि च्यात्छ । उसलाई किन के भै रहेको छ ? के ऊ आवियालाई प्रेम गर्छ त ? होइन, उसले त केवल सम्झौता मात्र गरेको हो, उसको गैरकानुनी पेसा वा बसाइलाई वैध बनाउने जमर्कोमा ऊ भेटिई, बस त्यत्ति हो । यो लिभ इन् केयर गिभरको झन्झटिलो पेसाबाट मुक्ति पाउन इजरायलमा त्यत्ति सजिलो कहाँ थियो ?

दुई महिनाअघि मात्र हो, आविया हामी दुवैलाई राम्रो हुन्छ भन्दै बिहेको प्रस्ताव लिएर आएकी थिई । बढ्तै घमण्डी भएर उसले सिधै इन्कार गरेको थियो । फेरि आज अचानक यो कस्तो अनुभूति ऊ भित्र बढिरहेको ? कतै प्रेम पलाउने कुरा त हैन ? कुनै हलक्क बढ्ने बिरुवाजस्तो ? त्यसो भए त्यो बिरुवा भर्खर रोपिएको हुनुपर्छ उसको मनको आँगनमा ।

आवियालाई यो सब बुझाउन समय लाग्नेछ उसले त जरुर यही सोच्नेछे– जेल परेपछि बचाउको उपाय मात्र गरिरहेको छ ऊ । उसले सोच्यो– अहिले केही भन्दिन ।

तेस्रोपटक हो ऊ पक्राउ परेको । जेलमा छँदा कस्ता–कस्ता भावनाहरूले खेद्दा रहेछन् । सासै बन्द होला जस्तो उकुसमुकुुस भएर आउँछ । कति धेरै उमंग थियो त्यो बेला, विकल्पहरू पनि अनेकौं थिए । त्यस्तै विकल्पहरूमध्ये फ्रेन्डसीप भिषाको भरपर्दो उपाय उसले प्रयोग गरेको थियो । यहाँ प्रेमी–प्रेमिका विवाहपूर्व नै सँगै बस्ने चलन हुँदोरहेछ । यदि कुनै इजरायलीको विदेशीसँग प्रेम सम्बन्ध रह्यो भने उसलाई आकस्मिक भिषा दिइने रहेछ र त्यसैलाई यहाँ फ्रेन्डसीप भिषाा भनिँदो रहेछ ।

धेरै झन्झट पनि गर्नुपरेन । एजेन्सीले नै सबै ठीकठाक मिलायो । महिनाको तीन–चार सय डलर बुझाउने सर्तमा आविया उसकी प्रेमिका भएर उसलाई भिषा दिन राजी भई । उसको फ्रेन्डसीपमा भिषा लाग्यो, स्वतन्त्र भएर जहाँ पनि काम गर्न पाउने भयो । कमाइ पनि राम्रै हुन थाल्यो । साधारण केयरटेकरको भन्दा तेब्बरसम्म हुन्थ्यो कमाइ । तर, उनीहरू साँच्चिकै सम्बन्धमा छैनन् र भिषाकै लागि यो प्रपञ्च गरेका हुन् भन्ने थाहा पायो वा प्रहरीमा उजुरी पर्यो भने उसको भिषा बदर हुन सक्थ्यो ।

नभन्दै त्यही भयो । कसैले पोल लगायो । ढुक्क के थियो भने, पटक–पटक आवियाले उनीहरूको सम्बन्ध झुठो नभएको बयान गर्थी र उसको बचाउ । आज पनि उसले यसै गर्नु पर्नेछ ।
०००

फागु पूर्णिमा । तर, सबै रंग उडेर गएजस्तो उदास र आफैंभित्र रित्तो अनुभूत गरिरहेछ ऊ । काठमान्डूका गल्ली, पानीका लोला, पिचकारी र रंगी–विरंगी अबिरहरूको स्मृतिभित्र केहीबेर ऊ हराउँछ । एकैछिन निस्कन पाए पनि हुने । नेपाली समाज इजरायलले तेलअभिभमा होली खेलौं मिलिजुलीको आयोजना गर्दैछ । बिदाको दिन कति रमाइलो भयो होला ?

होलीकै बेला यहाँ पुरिम भन्ने चाड पर्दछ । यी दुवै रंगीन उत्सवहरू बसन्त ऋतु आगमनका संकेतहरू हुन् । होली रंग छ्यापाछ्याप गरेर खेलिन्छ भने पुरिममा चाहिँ रंगीचंगी पोसाक लगाउने, कपाल रंगाउने विभिन्न चरित्र तथा पात्रहरूको नक्कल गरेर सहर डुल्ने । विशेष गरी केटाकेटी असाधारण र अनौठो फेसन गर्छन् । पोहोर साल आवियाको भाइलाई उसले ढाकाको दौरा–सुरुवाल मगाइदिएको थियो, नेपालबाट । आफूले कुनै अवसरमा नलगाए पनि अरूले यसरी आफ्नो पोसाक लगाएर सहर डुलेको देख्दा खुब रमाइलो लागेको थियो उसलाई । राजा, रानी, परी, हिरो, बेहुला, बेहुली, सुपरम्यान, जोकर र अवतारहरूको इन्द्रेणी लस्कर उसको कल्पनाको बाटो भएर गुज्रन्छ ।

बाहिर घाम पोखिएको छ । यस्तो पारिलो घाममा समुद्रको छालमा तैरनु, बालुवामा उत्तानो पल्टनु वा जीउभरि डेढ सीको माटो दलेर ढाड सेकाउनु । आवियासँग डेढ सी घुम्न जाँदा सिकेको– त्वचा सुन्दर हुन्छ रे ।

धेरै निम्ताहरू व्यस्तताको कारण देखाएर आफैं बदर गरिदिन्थ्यो । अवशेषजस्तो समयको डायरीमा आवियासँगै बिताएका दिनहरू त कति नै थिए र उसका ? यद्यपि, आज यस्तरी पल्टिरहेछन् ती पानाहरू, मानौं उसको छातीभित्र कुनै ठूलो आँधीवेहरी मडारिइरहेको छ ।

सम्झौताबमोजिम महिनावारी बुझाउने बेलाबाहेक अरूबेला आवियासँग खासै उस्तो निकटता रहेन । फ्रेन्डसीप भिषा लगाएपछि सुरुको एउटा काम खोज्नचाहिँ उसले सघाएकी थिई । त्यो रिसोनको सुपर बाउलमा थियो– मार्करको । अलि टाढा र कम घण्टाको भएकोले पछि उसैले छाडिदियो । जुनसुकै क्षेत्रमा गर्न मिल्ने भएपछि कामको त केही दुःख थिएन । पछि सुपरमार्केटमा काम गर्न थालेपछि भने उसको इष्र्या गर्नेहरू पनि धेरै भएका थिए ।

बेला बेला आविया निम्तो गर्थी । यस्तो बेला कुनै विशेष चाडपर्व वा उत्सव छ भन्ने बुझ्नुपथ्र्यो ।

आफ्नो बसाइलाई वैध बनाउने बहानामा उसले यो एक वर्ष मात्रै हजारौं डलर बुझाइसकेको छ । पक्राउ परेपछिको वकिल खर्च यसरी समातिँदा काम नभएको अवस्था । यी सबै झमेलामा फस्दा उसलाई यो फ्रेन्डसीप भिषजत्तिको झन्झटिलो केही लाग्दैनथियो । सोच्थ्यो– बरु लिभ इन् केयर गिभरमै गएको भए हुने, न कसैलाई पैसा बुझाउनु पर्ने, न त भिसाको समस्या । जेलबाहिर निस्केपछि भने भोलिपल्टै यो सबै बिर्सन्थ्यो ऊ ।

अरू त सबै आनन्दले बसेकै छन दिनभरि तेल अभिभ डुल्ने–खाने–खेल्ने पैसा कमाउने कुनै व्यवधान छैन । अभागी खप्पर जहाँ गए पनि ठक्कर भनेझैं उसैलाई मात्र कसले पोल लगाउँछ कुन्नि ? या उसको काम सेन्टरमा भएर हो या आवियाको घर टाढा भएर पो हो कि, या ऊ आफैं अलि जोगिने कोसिस नगरेर हो । कारण जान्ने असफल प्रयास गर्छ ।

किन यति साह्रो कडाइ गरिएको यहाँ ? श्रम बेचेरै दुई/चार पैसा कमाउन आएको विदेशीप्रति यो कस्तो अप्ठ्यारो कानुन ? यस्तो लाग्छ– ऊ कुनै प्यालेस्टिनी सैनिक संगठन वा हमासको आतंककारी गुरिल्लामा भर्खर भर्ती भएको छ र आत्मघाती विष्फोट गराउन इजरायल छिरेको छ ।

मुद्दा चल्यो, वकिल लगाइए, मानव अधिकारवादी, हटलाइन र अन्य गैरसरकारी संघ–संस्था सबैले आ–आफ्नो स्थानबाट सक्दो प्रयास गरेका छौं भने । अन्ततः आज एक महिना दुई हप्तापछि उसले आफूलाई जेलमुक्त पायो । बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै अनिच्छित यात्राको लागि पर्खिरहेको । उसको हातमा टिकट थमाइएको थियो, घर फर्कने ।

ऊभित्रको एउटा नेपाली आफ्नो घर फर्कन पाउँदा पटक्कै खुसी नभएको यो कस्तो निरीह स्वाभिमान उसको ? आफूखुसी काम गर्न र स्वतन्त्र भएर हिँड्न उसले रचेको यो सानो उपक्रम बारुदको खेती गर्ने देशमा किन मान्य हुन्थ्यो ?

फर्कने बेला कसैलाई भेट्न पनि पाएन । अपार्टकै एकजनाले एअरपोर्टसम्म सामान ल्याइदियो । निराशाको अँध्यारोले ढाकेजस्तो शून्य थियो मन, जहाँ ऊसँगग एउटा अर्थहीन गुनासो शेष रहिरह्यो, आवियाप्रति । त्यत्तिका पैसा लिएर पनि यसपालि प्रहरीसमक्ष र कोर्टमा उसले किन भनिन कि– हामी प्रेमी–प्रेमिका थियौं ।
०००

Save

सम्बन्धित समाचार

Koshi Online

FREE
VIEW