Rumpum Advertisement
Dazzu

नेकपा कुनै माटोको हाँडी होइन, लट्ठीले हानेर फुट्ने : भीम रावल

नेकपा कुनै माटोको हाँडी होइन, लट्ठीले हानेर फुट्ने : भीम रावल

काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रावलले कैलालीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताए । उनले सरकार भने परिवर्तन हुनसक्ने संकेत गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैजनाको पार्टी फुटाउने योजना नरहेको बताए ।

पार्टी कुनै माटोको हाँडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने उनले ठोकुवा गरे । नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रूपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताए ।

कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताए । उनले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

पार्टी विधि, पद्धति र जनताको चाहनाअनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाइ छ । उनले पार्टी अध्यक्षहरूलाई विधि र प्रणालीअनुसार चल्न पनि आग्रह गरे ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ