Rumpum Advertisement
Dazzu

शेयर बजारमा कारोबार रकमको नयाँ रेकर्ड

शेयर बजारमा कारोबार रकमको नयाँ रेकर्ड

काठमाडौ, ७ मंसिर । आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ । दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ । सेन्सेटीभ परिसूचक पनि २ अंकले बढेर ३ सय ४५ अंकमा बन्द भएको छ ।

कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूहबाहेकका सबै समूहका सूचकहरु घटेका छन् । यसअघिका दिनहरुमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु ती क्षेत्रको शेयर बिक्री गरी बैंकतर्फ आकर्षित भएको देखिन्छ । त्यसैले अन्य समूहमा दवाव भइरहँदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलब ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ ।

लगानीकर्ताहरु तुलनात्मकरुपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ । घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ । यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रुपैयाँको भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबाहेक २० कारेड रुपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरुमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम सिमेन्ट रहेका छन् ।

सिटिजन्स म्युचुअल फण्ड दोस्रोका इकाईधनीहरुले १० प्रतिशतले कमाएका छन् । यस्तै जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन् । बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिए पनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ