Rumpum Advertisement
Dazzu

भेन्टिलेटरमा रहेका गम्भीर संक्रमितले बजाए भायोलिन

भेन्टिलेटरमा रहेका गम्भीर संक्रमितले बजाए भायोलिन

विराटनगर, ७ मंसिर । आईसीयूमा केही खुसी फैलाउनका लागि भेन्टिलेटरमा रहेका अवकाशप्राप्त एक अमेरिकी अर्केस्ट्रा शिक्षकले संगीतको सहारा लिएका छन् ।

कोरोनाबाट गम्भीर बिरामी भएपछि उटाहस्थित अस्पतालमा भर्ना भएका ग्रोभर विलहेल्मसेनले स्वास्थकर्मीप्रति आफ्नो सम्मान दर्शाउन भायोलिन बजाएका हुन् । भेन्टिलेटरमा रहेका विलहेल्मसेनको शरीरमा विभिन्न उपकरण जोडिएका कारण उनी बोल्नसक्ने अवस्थामा थिएनन् । तर, आज्डेनस्थित म्याकके डी अस्पतालमा ७० वर्षीय संक्रमितले पेन र कागजमा लेखेर भायोलिन बजाउने आफ्नो इच्छा पूरा गरिदिन आग्रह गरेका थिए ।

अस्पतालकी नर्स सियरा सासेलाई दिइएको कागजमा ‘म साँच्चै अस्पतालमा संगीत सुनाउन चाहन्छु । मेरी श्रीमतीले भायोलिन र भायोला ल्याउँदा कस्तो होला ?’ लेखिएको थियो । यसपछि केही चिकित्सकसँग स्वीकृति लिएर सासेले उनको भायोलिन बजाउने इच्छा पूरा गरेकी थिइन् । भायोलिन बजाउँदै गर्दा सासे निगरानीका लागि उनकै कोठामा बसिरहेकी थिइन् ।

भेन्टिलेटरमा रहेका बिरामीले यस्तो गर्नु सबै कर्मचारीका लागि अकल्पनीय रहेको सासेले भावुक हुँदै भनिन्, ‘विलहेल्मसेन बिरामी भए पनि हौसिएका थिए । विलहेल्मसेनले भायोलिन बजाउँदै गर्दा सिसाले घेरिएको आईसीयु आसपास कर्मचारी संगीतको धुन सुन्नका लागि भेला भएका थिए । ग्रोभरले एउटा दुर्भाग्यपूर्ण स्थितिलाई सकरात्मक बनाएका हुन् । उनले गरेको प्रयास कोभिडको अन्धकारमा एक सानो प्रकाश रहेको बताइएको छ ।

अस्पतालका अनुसार सिकिस्त बिरामी हुनुभन्दा पहिले विलहेल्मसेनले केही पटक भायलिन बजाएका थिए तर, पछि उनलाई बेहोस पार्नु आवश्यक थियो । विलहेल्मसेनले एक महिना आफ्नो अस्पतालको भेन्टिलेटरमा बिताएपछि गत हप्ता आईसीयूमा सारिएको उनकी पत्नी डायना विलहेल्मसेनले बताइन् । विलहेल्मसेन क्रिसमसको समयसम्म डिस्चार्ज भएर घर फर्कने डायनाले आशा राखेकी छिन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ