Rumpum Advertisement
Dazzu

जाडोयाममा भारतबाट २५० मेघावाट विद्युत आायत गर्न स्वीकृति

जाडोयाममा भारतबाट २५० मेघावाट विद्युत आायत गर्न स्वीकृति

काठमाडौ, ७ मंसिर । नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडोयामका लागि ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत् दुई सय ५० मेगावाटसम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत् दुई सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले स्वीकृति दिएको बताए ।

शाक्यले नियमित आयात भइराखेकोभन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्ने गरी सम्झौता स्वीकृत भएको बताए । जाडोयामका लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नका लागि उक्त स्वीकृति लिएको पनि शाक्यले बताए ।

उनले भने, ‘ढल्केवरबाट हामीले आयात गरेर नेपाली प्रणालीमा खपत गर्न सक्ने भनेको करिब तीन सय मेगावाटभन्दा बढी छैन । १ सय ३२ केभीका लाइनहरु मात्रै जोडिएका छन् त्यहाँभन्दा तलतिर । त्यसपछि हामीले अहिले दुई सय ५० मेगावाटको सम्झौता स्वीकृत भइसकेको छ ।’

हिजोमात्र भारतले स्वीकृति दिएको उनले बताए । यहाँबाट दुई सय ५० मेगावाट आइसकेपछि बाँकी केही कुसाह–कटैया र टनकपुरबाट लिइने उनले बताए ।

उनले भने, ‘त्यति गरेपछि यो जाडो महिनाको उर्जाको माग पूरा हुन्छ । त्यसमा कुनै समस्या हुँदैन ।’ यो स्वीकृति २०२१ सम्मलाई मात्र रहेको उनले बताए । त्यो समयसम्म नेपालको आफ्नै बिजुली उत्पादन धेरै हुने भएकाले आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि कामु कार्यकारी निर्देशक शाक्यले बताए ।

आगामी वर्षको सुरुवातदेखि नै अधिक बिजुली उत्पादन हुने देखिएकाले त्यसको व्यवस्थापनमा चुनौती देखापर्न सक्ने छ । अहिले उर्जा क्षेत्रमा भएको लगानीबाट उत्पादन सुरु भएपछि त्यसको खपत बढाउन नसक्ने हो भने बिजुली खोलामा बगाउनुपर्ने स्थिति आउन सक्ने र यस्तो स्थिति आएमा देशको अर्थतन्त्रमा घाटा हुने उनको भनाइ छ । यसबाट प्राधिकरणसँगै उत्पादक कम्पनीहरुलाई समेत घाटामा जाने देखिन्छ ।

विद्युत खपत बढाउनका लागि प्राधिकरणले अहिलेदेखि नै योजनाबद्धरुपमा काम गरिरहेको पनि शाक्यले बताए । अहिलेको मुख्य काम भनेको नै खपत बढाउनु भएको र त्यसका लागि औद्योगिक क्षेत्रमा पाँच सय मेगावाट र अन्य क्षेत्रमा चार सय मेगावाट विद्युत खपत गराउन सकिने अनुमान गरिएको पनि उनले बताए ।

त्यसपछि पनि अधिक भएको बिजुली निर्यात गर्नुको विकल्प नभएको उनले बताए । त्यसैले निर्यातका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव अगाडि बढाइसकेको शाक्यले बताए ।

यस्तै विद्युत वितरणमा देखिएका केही समस्याहरुलाई समाधान गर्ने कार्यमा प्राधिकरण जुटेको पनि कामु कार्यकारी निर्देशक शाक्यले बताए । २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जोडिएदेखि नै जोड्न बाँकी रहेको काठमाडौंदेखि ढल्केवरसम्मको बिजुलीको प्रसारण लुप (सर्कल) जोड्न प्राधिकरण सफल भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ