Rumpum Advertisement
Dazzu

‘इस्यु–लेस’ राजनीति

कुरा ‘बूढी मरी होइन कि सवाल काल पल्क्यो’ भन्ने हो ।

‘इस्यु–लेस’ राजनीतिकुरा ‘बूढी मरी होइन कि सवाल काल पल्क्यो’ भन्ने हो ।
पेशल आचार्य

रसियाका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले संसारलाई चकित बनाउने काम यो गएको हप्तामा गरे । उनले रुसको संसद ड्युमाबाट ‘उनी र उनका परिवारलाई सत्तामा रहँदा र नरहँदा कुनै प्रकारको मुद्दा मामिला लगाउन नपाइने विधेयक’ संसदबाट पारित गरे । यो भनेको संसारमा चलेको लोकतन्त्र या प्रजातन्त्रको सिधै चीरहरण हो ।

कुनै पनि व्यक्ति यतिको शैलीमा कानुनभन्दा माथि हुन्छ भने त्यो तानाशाह नै हो । संसार कोभिडले आक्रान्त बनेका बेला पुटिनले सत्ताको बलमा जे गरे त्यो सरासर तानाशाही व्यवहार हो । यस्तो व्यवहार भएको जान्दा, सुन्दा, पढ्दा र बुझ्दा त रसियालगायत सारा संसार चुप लागेर बस्छ भने संसारका मानिसले जनताको शासन भनेर किन मरिहत्ते गरिरहनु ? कहिलेकाहीँ यसो सोच्दा पनि आफैँदेखि रिस, हाँस र झोँक चलेर आउँछ ।

वास्तवमा अहिलेको समय भनेको विनिर्माणको समय हो । भए गरेका सबै नीतिनियम, ऐनकानुन, विचार, दर्शन, व्यवहार र सोच सक्नेहरूले साना या ठूला देशीय या वैश्विक सत्ताको आडमा भाँच्ने या मास्ने काम नै गरेका छन् । जो जति ठूलो व्यक्तित्व र वलशाली ठानिन्छ ऊ त्यति नै देश र संसारका लागि खतरनाक सावित हुँदै गएको छ ।

अहिले पुटिन महोदयले गरेको पनि त्यही हो । उनले विश्वको प्रजातान्त्रिक व्यवस्थालाई नै लल्कारेका हुन् । मुठ्ठीको माखा बनाएका हुन् । जनताको भावनाको तेजोबध गरेका हुन् । शालीन मानिसहरूका सपनामा ठाडै मुतेका हुन् । त्यसैले हामी संसारभरिका असल विचार राख्ने मानिसहरूले त्यस्ता यो वा त्यो वा कुनै न कुनै रुपका ह्वाइट तानाशाहहरूको विरोध गर्न छाड्नु हुँदैन ।

झट्ट हेर्दा यो कुरा सामान्यजस्तो लाग्छ तर गहिरिएर सोच्ने हो भने यसको अन्तर्यमा निकै कहालीलाग्दो कुरा लुकेको हुन सक्छ । संसारमा जोकोही पनि निर्वाचित पदाधिकारीलाई ऊ पदमा बहाल रहेको अवस्था वा पदबाट निवृत्त भइसकेको अवस्थामा पनि उसले देश, जनता, सिस्टम र आम मानवताका विरुद्ध गरेका अपराध, गल्ती, खराबी र दुनिर्यतका बारेमा जिउँदो वा मरेका बेलामा पनि मुद्दा चलाइन्छ । उसका पक्ष–विपक्षमा उभिएर कानुनका बेत्ताहरूले बहस पैरवी गर्छन् र अदालतले सो कसुरउपर न्याय निरोपण गरी निर्दोष भए माफी मिनाहा दिन्छ र दोषी करार भएमा सजाय दिन्छ । त्यो सजाय नगद जरिवाना, कैद, दुवै वा मृत्युदण्ड पनि हुन्छ ।

कुरा ‘बूढी मरी होइन कि सवाल काल पल्क्यो’ भन्ने हो ।

अहिले संसारमा अतिवादीहरूको लहर नै चलेको छ । अमेरिकामा दक्षिणपन्थी सोच राख्ने ट्रम्पलाई त्यहाँका सचेत र परिवर्तनका पक्षधर जनताले निर्वाचनका माध्यमबाटै पाखा लगाइदिए । यो उग्रवादीता हाम्रो छिमेकी देश भारतमा समेत छ । मोदीले देशभित्र गरेका ससाना मात्र गलत काम होइन कि उसको छिमेमी देशहरूमा उनले ह्याकुलाले मिचेर जुन व्यवहार प्रदर्शन गरिरहेका छन् त्यो व्यवहारले उनको राजनीति सदाका लागि मटियामेट हुने स्थितितर्फ अग्रसर भइरहेको छ ।

यही प्रभाव अहिले हाम्रो देशमा भएको वामपन्थी सरकारले पनि देखाएको छ । ऊ विधि, नियम, तर्क, व्यवहार र चलन सबै कुराहरूलार्ई किस्ता किस्तामा मिचेर लगभग फाँसीवादी शासनको प्रयोग गर्न उद्धत्त भइराखेको छ । निर्वाचित भएपछिका तीन वर्षका उसका रबैयाहरूले सोही कुरा देखाएका छन् । आफूभित्रको राप र तापलाई सम्हाल्न नसकेपछि उसले लगभग मनमौजीको बाटो अख्तियार गरेको प्रतीत हुन्छ ।

प्रतिपक्षको मौनाता भनौ या सत्ताद्वारा प्रतिपक्ष भएकैमा पाउने केही संवैधानिक र कूटनीतिक नियोगमा भएका नियुक्तिहरूमा भाग खोजेर सत्ताको साँचिलो बनिदिएबापत अहिले जनताले महामारीको मूल्य रामै्रगरी चुकाउनु परिरहेको छ । एकैछिन ठन्डा दिमागले सोचौँ त यतिखेर नेपाली कांग्रेस सत्तामा र नेकपा प्रतिपक्षमा रहेको अवस्था भए के अहिले जुनजुन व्यवहार देखाएर सत्ता देश, जनता, सिस्टम र महामारीप्रति बर्खिलापमा प्रस्तुत भएको छ, त्यो के नेकपाका देशैभरिका विविध हाँचका नेता र कार्यकर्ताहरूले सामना गर्न सक्थे होलान् र ?

किमार्थ सक्दैनथे । यही कुरालाई मिहीन शैलीले केलाउँदा नेपालको राजनीतिक गन्तव्य कतातिर गइराखेको छ त्यो आफैंमा स्पष्ट हुन्छ । स्थानीय निकायहरूले केके गरिरहेका छन् । हालै सप्तरीको एउटा गाउँपालिकामा कर्मचारीको बद्मासीले भनेर एउटा लाइफ ब्वाय नुहाउने साबुनलाई ३८५० रुपैयाँको बिल बनाएर खर्च लेखिएको सन्दर्भ आयो । केही दिन पहिले एकजना वडा अध्यक्षले गाउँमा आफ्नो बाबुले पहिलोपटक मिल स्थापना गरेको भनेर पालिकाको बजेट नै हालेर बाबुको शालिक बनाउने काम गरे । यी त झिनामसिना कुरा मात्र हुन् । पालिकाका अध्यक्ष, उपाध्यक्षहरू अहिले संविधान दिवस र गणतन्त्र दिवसमा पिर्कामा बसेर सलामी लिन र खान पाउँदा खुसी हुन्छन् ।

जनताले कम्युनिष्ट प्रधानमन्त्री भएका बेलामा भोकभोकै मर्नु परिरहेको छ । किसानले मल पाएनन् । सहल आउँदा अंग्रेजी गीत गाएर भगाउनु पर्छ भन्ने जस्ता रुखा कुराहरू आए । सार्वजनिक शिक्षा, सार्वजनिक स्वास्थ्य र सार्वजनिक यातायातको हरिबिजोग भएको मुलुकमा पिर्के, टेबुले र कुर्से सलामी खोज्ने र खानेहरूले केबल भ्यु टावर मात्र रटान गरे । आखिर स्वास्थ्यको अवस्था यति गएगुज्रेको रहेछ कि जनताले महामारीका बेलामा सस्तो र होलो प्रक्रियाले उपचार पनि गर्न पाएनन् ।

कोभिडले थिल्थिलो भएको छ– देश । औपचाारिकता निर्वाहका लागि देशभित्रका सबैसबै संयन्त्रहरू (संघीय स्तर हुँदै प्रदेशदेखि पालिका स्तरसम्म) चलायमान छन् । सरकारहरू गतिशील छन् । दौडादौड छ । हाँप र झाँपसमेत देखिन्छ । कतिपय निकाय, केन्द्र, संस्था र व्यक्तिहरूलाई उनीहरूले उत्सर्जन गर्न थालेको दिसापिसाब निखार्न पनि फुर्सद छैन अहिले । आदेश छ । तोकादेश छ । अनुगमन छ । कार्यान्वयन पनि छ तर परिणाममा कोरोना रोगका कारण नेपालमा पनि मानिसहरू मरेकामर्‍यै छन् । दिनको औसतमा दुई हजार मानिसहरूमा रोग देखिरहेको छ । दैनिक पन्ध्र बीसजना मानिसहरू मरिरहेका छन् । अब भनेको भगवान् भरोसा नै हो । सरकारको भरोसा त शून्य हुँदै गएको छ ।

आखिर नेपाली जनताले त खोजेको सरल, शीघ्र, सस्तो र गाउँघरमै खोजेका बेलामा पाइने सरकार हो नि । अहिलेसम्म हामीले मात्र व्यवस्था परिवर्तन मात्र भन्यौं तर कहिले पनि शासकको मानसिकता परिवर्तन भनेनौं । यहाँ जुनसुकै व्यवस्था होस् चाहे प्रजातन्त्र होस् या लोकतन्त्र या राजतन्त्र नै जनतालाई जबसम्म यो वा त्यो बहानामा नेताहरूले पेलिरहने सिस्टम हावी हुन्छ त्यहाँ जनताले सुख पाउनै सक्दैनन् । हामीले संविधानतः ‘राइटु टु रिेजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था जबसम्म व्यवहारमा ल्याउँदैनौं तबसम्म हामीले चुनेका नेताहरू अप्ठ्यारो अवस्था पर्दा यसैगरी डुक्रिरहने गर्दछन् जसरी अहिले गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ