Rumpum Advertisement
Dazzu

पाँचमध्ये एक कोभिड संक्रमितले ९० दिनमा मानसिक समस्या विकास गर्ने

पाँचमध्ये एक कोभिड संक्रमितले ९० दिनमा मानसिक समस्या विकास गर्ने

विराटनगर, ७ मंसिर । कोभिड १९ को संक्रमण भएर निको भएकामा मानसिक रोगको ठूलो जोखिम हुने सम्भावना रहेको मनोचिकित्सकहरू बताउँछन् ।

एक अध्ययनका अनुसार कोरोना भाइरसबाट संक्रमित पाँचमध्ये एकमा वा २० प्रतिशत संक्रमितमा ९० दिनभित्र मानसिक समस्याको पहिचान भएको देखिएको हो । अध्ययनमा कोभिड १९ बाट निको भएकाहरूमा मानसिक समस्या विकास गरेकामध्ये धेरैजसोमा एन्जाइटी, डिप्रेसन र अनिन्द्राको समस्या रहेको देखिएको थियो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार निको भएका संक्रमितमा डिमेन्सियाको पनि उच्च जोखिम रहेको पाइएको छ । कोभिडबाट निको भएकामा मानसिक स्वास्थ्य समस्याको ठूलो जोखिम हुने बताइन्छ र अध्ययनले पनि यसको सम्भावना देखाएको अक्सफोर्डका मनोचिकित्सकका प्राध्यापक पल हैरिसन बताउँछन् ।

कोभिड संक्रमण भएको तीन महिनामा, बचेका पाँचमध्ये एकजनालाई पहिलो पटक एन्जाइटी, डिप्रेसन वा अनिन्द्राको समस्या भएको रेकर्ड गरिएको छ । लान्सेट मनोचिकित्सा जर्नलमा प्रकाशित अध्ययनले पहिले नै कुनै न कुनै मानसिक रोग भएका मानिसमा कोभिडको संक्रमण हुने सम्भावना ६५ प्रतिशत बढी रहेकोसमेत देखाएको थियो ।

अध्ययनका लागि संयुक्त राज्य अमेरिकामा ६९ मिलियन व्यक्तिको स्वास्थ्य रेकर्ड विश्लेषण गरिएको थियो, जसमा ६२ हजारभन्दा बढी कोभिड संक्रमित थिए । विश्वव्यापीरूपमा कोभिड संक्रमण भएका व्यक्तिका लागि अध्ययनको निष्कर्ष समान हुने अन्वेषक टोलीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ