Rumpum Advertisement
Dazzu

तस्करीको सामान नियन्त्रणमा लिन विराटनगरमा हवाई फायर

तस्करीको सामान नियन्त्रणमा लिन विराटनगरमा हवाई फायर

विराटनगर, ७ मंसिर । तस्करी गरेर भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिन प्रहरीले विराटनगर महानगरपालिका–१७ मटेरुवामा आइतबार बिहान हवाई फायर गरेको छ ।

प्रहरीले हवाई फायर गरेर नेपाल–भारत सीमा क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिँदै तस्करीको सामान बरामद गरेको छ । प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको छ ।

भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर अवस्था तनावपूर्ण बनेको हो । सादा पोसाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर १०÷११ जनाको संख्यामा रहेका तस्करको समूहले अवरोध पु¥याएपछि हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

उनका अनुसार तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण हुन थालेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु परेको छ । हवाई फायर गरेपछि तस्कर समूह तितरवितर भएको जानकारी खड्काले दिए ।

हवाई फायर गरेर प्रहरीले सामान तस्करीमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । भारतबाट तस्करी गरेर ल्याएको कम्मरमा लगाउने एक बोरा बेल्ट (पेटी)सहित ३३ वर्षीया रविना खातुनलाई पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए । पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनले दिएको सूचनाका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खड्काले नेपालबाट भारत र भारतबाट नेपालतिर हुने तस्करी नियन्त्रण गर्न नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएर कडाई थालिएको बताए । अवैध ओसारपसार र तस्करी नियन्त्रणमा लिन सीमा क्षेत्रमा विशेष टोली परिचालन गरेर ‘स्वीप अप्रेशन’ सञ्चालन गरिएको उनको भनाइ छ ।

नेपालबाट भारततिर मरिच, मटर, सुपारी लगायतको तस्करी हुँदै आएको छ । भारतबाट नेपालतिर लत्ताकपडा, तेल, चिनी लगायत दैनिक उपभोग्य वस्तुको तस्करी हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ