Rumpum Advertisement
Dazzu

निर्वाचन नतिजालाई औपचारिकता प्रदान गर्ने प्रक्रियामा ट्रम्पको ढिलाई

निर्वाचन नतिजालाई औपचारिकता प्रदान गर्ने प्रक्रियामा ट्रम्पको ढिलाई

विराटनगर, ७ मंसिर । डोनाल्ड ट्रम्पले अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको नतिजालाई औपचारिकता प्रदान गर्ने प्रक्रियामा ढिलाई गरिरहेका छन् ।

राष्ट्रपतिमा जो बाइडेन विजयी भए पनि ट्रम्पले नतिजा अस्वीकार गर्दै आइरहेका छन् । निर्वाचनमा परातिज भए पनि हार स्वीकार नगरिकन चुनावमा धाँधली भएको आरोप लगाउँदै उनले आफ्नो पार्टीलाई नतिजा उल्ट्याउनका लागि ‘सबै प्रयास’ गर्न बाध्य पारेका छन् । तर धाँधली भएको कुनै प्रमाणभने अहिलेसम्म उनले उपलब्ध गराएका छैनन् ।

तर पनि ट्रम्पले आफूले जित्दाजित्दै चुनावमा धाँधली भएको आरोप लगाउँदै आफूबाट नतिजा खोसिएको जिकिर गरिरहेका छन् । उनले अदालतमा दायर गरेका मुद्दाहरु लगातार खारेज भइरहेका बेला बाइडेनले जितेको मिसिगन राज्यका रिपब्लिकन अधिकारीहरुले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने समयपछि धकेल्न आग्रह गरेका छन् ।

मिसिगनका अधिकारीहरुले राज्यको इलेक्टोरल बोर्डलाई पत्र लेखेर मतलाई औपचारिकता प्रदान गर्ने समय दुई हप्तापछि सार्न आग्रह गरेका हुन् । उनीहरुले राज्यको सबैभन्दा ठूलो काउन्टी डिट्रोइटमा पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् ।

राज्यका रिपब्लिकनहरु पनि ट्रम्पकै पक्षमा देखिएक छन् । प्रमाणविहीन आरोपकापछि लागेर मत परिणामलाई औपचारिकता प्रदान गर्ने समयपछि सार्न उनीहरुले भनिरहेका छन् । तर मिसिगनको डिपार्टमेन्ट अफ स्टेटले रिपब्लिकन अधिकारीको आग्रह खारेज गरेको छ । मत परिणामलाई औपचारिकता प्रदान गर्ने समय पछि सार्न कानुनले नदिने डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।

दुई डेमोक्र्याट र दुई रिपब्लिकन रहेको चार सदस्यीय मिसिगन इलेक्टोरल बोर्डको बैठक सोमबार बस्ने र उनीहरुले मतपरिणामलाई औपचारिकता प्रदान गर्ने तयारी छ । उनीहरुको निर्णयलाई मिसिगनका सेक्रेटरी अफ स्टेटले प्रमाणिकरण गर्नुपर्छ र त्यसपछि राज्यका गभर्नरले प्रमाणिकरण गर्नु पर्छ ।

ट्रम्पले शुक्रबार मिसिगन राज्य संसदका दुई नेतृत्वदायी भूमिकामा रहेका सांसदसँग ह्वाइट हाउसमा भेट गरेका थिए । ट्रम्पले उनीहरुलाई राज्यमा बाइडेनको जितलाई अस्वीकृत गरि आफ्नो पक्षमा नतिजा घोषणा गर्न दबाब दिएको दाबीसहितका खबर आएका छन् । ह्वाइट हाउसले भने सो कुरा अस्वीकार गरेको छ ।

ट्रम्पसँग भेट गरेका दुई रिपब्लिकन सांसदले सामान्य प्रक्रिया नै पछ्याउने र आफूहरुले नतिजा उल्ट्याउने कुनै पनि प्रमाण नभेट्टाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ