Rumpum Advertisement
Dazzu

लकडाउनको सदुपयोग गर्दा स्वरोजगार

लकडाउनको सदुपयोग गर्दा स्वरोजगार

हेटौंडा, ६ मंसिर । कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए ।

यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकूल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरणीय व्यक्ति बनेका छन्, हेटौडा–६ शान्तिटोलका भरत सापकोटा । लकडाउनका कारण आफूले लाखौं लगानी गरेर सञ्चालन गरेको निजी विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्नसमेत समस्या भयो ।

त्यसैले आफ्नो पुख्र्यौली जमिनमा व्यावसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरुवात गरे । लकडाउनकै बीचमा कुखुरा, माछा र तरकारी खेति सुरु गरेका सापकोटाले अहिले आम्दानी लिन थालेका छन् ।

यस्तै लकडाउनभन्दा अगाडि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउनकै बीचमा व्यावसायिक तरकारी खेति सुरु गरेको छ । बेमौसमी तरकारी खेति सुरु गरेका उनीहरुको परिवारले पहिलो उत्पादनमै तीन लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्न सफल भएको छ ।

लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफू त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन् ।

लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले स्वरोजगार कार्यक्रम सुरु गरेको छ । बेरोजगारहरुलाई व्यावसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेका छन् ।

हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यावसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडि बढाएका छन् । तर सीपमूलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न भने सकिरहेका छैनन् । राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ