Rumpum Advertisement

म रिसाएको छैन कमरेड !

म रिसाएको छैन कमरेड !
सागर तिमिल्सिना

म रिसाएको छैन कमरेड
चित्त दुखाएको हो ।
पसिनाकै गन्ध मीठो लाग्थ्यो मलाई
केवल, तिम्रो परफ्यूम गन्हाएको हो ।

जनताका विश्वासको सिँढी चढेर
तिमी सिंहदरबार पस्दा,
जनताका आशाहरुको भारी बोकेर
तिमी सत्तामा बस्दा,
मलाई ठूलो गर्व लागेको थियो ।

तर, अचानक…
सरल मान्छेहरुका सपनामाथि
निमुखा मान्छेहरुको आकांक्षामाथि
करोडौं जनताको चाहनामाथि
तिमीले कालो धब्बा पोतिदिँदा
जनताको वर्गबाट अलग्गिएर
तिम्रो वर्गीय चरित्रको पदोन्नति हुँदा
मलाई थोरै दुःख लागेको हो ।

तर, म रिसाएको छैन कमरेड
चित्त दुखाएको हो ।

म जीवनभर जुन बाटोमा तिमीसँगै हिँडिरहेँ
तिमीले टेकेका पाइतालाका डोबहरु
इमानदारसाथ पछ्याइरहेँ,
आज तिमीले पाइला अन्तै मोडिदिँदा
विगत बिर्सिएर वर्तमानमा रमाइदिँदा
च्वास्स मन दुखेको हो ।

तर, म रिसाएको छैन कमरेड
चित्त दुखाएको हो ।

हिजो बोकेका पीडाका रातहरु
सहृदयता र अभिवादनका हातहरु
आत्मीयताका मधुर साथहरु
विचारका अनगिन्ति थाँकहरु
अकस्मात लोभ, लालचमा परिणत हुँदा
सिद्धान्तमा अहंकारको विष घोलिदिँदा
तिमीले आफ्नो अनुकूल आफैं व्याख्या गरिदिँदा
मेरो चित्त नबुझेको ठिक हो ।

तर, म रिसाएको छैन कमरेड
चित्त दुखाएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ