Rumpum Advertisement

‘राम’ बद्नाम बनाउने केही ‘हराम’हरू

स्थापित मूल्य मान्यताहरूलाई भत्काउन खोज्नु भनेको आकाशतिर फर्केर थुक्नु हो ।

‘राम’ बद्नाम बनाउने केही ‘हराम’हरूस्थापित मूल्य मान्यताहरूलाई भत्काउन खोज्नु भनेको आकाशतिर फर्केर थुक्नु हो ।
पेशल आचार्य

‘राम’ हरेक नेपालीको जन्मदेखि मृत्युसम्म सम्झिने नाम । भेटमा अभिवादनका लागि भनिने ‘जय रामजी कि’ होस् वा ‘राम राम’ यी सबै आफ्नोपन बोकेका प्रिय अभिवादनहरू हुन् । हामी जोजे जहाँ भए पनि रामराज्यको कल्पना गर्दै गोरखधन्दाका राजनीति गर्दै आएका छौं । माक्र्सले गरेको ‘युटोपिया’ को कल्पना होस् या बुद्धको ‘शान्ति राज्य’ त्यहाँ पनि केही न केही ‘राम राज्य’ को छनक भेटिन्छ ।

अचेल कलियुगका स्वार्थी मानिसहरू हिजोको सिद्धान्त र व्यवहारबाट केही टेढिएका छन् त्यसैले ठाम न कुठाम, बेला न कुबेला स्थापित नाम र सन्दर्भलाई दनक दिई विवादमा मुछिन्छन् । यस्तो किन हुन्छ ? यसका बारे खोज हुन सक्छ । सन्धान गरिनु पर्छ र नियाल्नु पर्छ, मानिसको पानी र बानी । उसले कहाँकहाँ कुनकुन घाटको पानी पिएको छ ? अनि उसको मूल्याङ्कन हुन्छ । सही वा गलत बर्तिन्छ । समाजले नै हो उसलाई दण्ड र पुरस्कार दिने ।

नेपाली दूरदराजका गाउँमा गाउँलेहरू अझै भन्दै छन्– ‘खोरमा राजखानीअनुसारको बोको र बोकोअनुसारको राजखानी हुन्छ ।’ अझ त्यो बोको भीमसेनलाई अर्पिएको छ भने त त्यसले अझ उधुमै गर्छ । न छुन भयो न गाली गर्न नै हुने । जहिले पनि ज्यूज्यू गरेर दानापानी र घाँस दिनै पर्ने । साट्न नमिल्ने, काट्न पनि नमिल्ने !

कतिपय सवालमा अहिले नेपालमा भएको त्यस्तै छ । मानौं ‘खोर’ भनेको ‘देश’ र ‘बोको’ भनेको ‘दुई तिहाइको जनवलमा खडा भएको डबल नेकपा सरकारको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली’ । अहिलेको नेपालको अवस्थालाई हेर्दा प्रतिपक्षी नेपाली कांग्रेसलाई राजनीतिक सिँगाने लागेको छ । यो रोगको उपचार कम्तिमा पनि त्यो दलको सभापति नफेरिइकन होलाजस्तो लाग्दैन । सभापति फेर्नका लागि भनेबित्तिकै हुँदैन । कम्तिमा महाधिवेशन कुर्नु पर्छ । कांग्रेस महाधिवेशन भनेपछि डरले थुरथुर हुन्छ ।

यसका धेरै कारणहरू छन् ।

कारण नं. १.

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी सासूआमा प्रतिभा राणा (मदर इन ल) यतिखेर जापानकी महामहिम राजदूत हुन् । उनी भलै देउवाकी सासू हुन् तर राजनीतिक विचारका आधारमा चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ हुन् । उनी विगतमा कहिले कांग्रेसका नेतृत्वमा कहिले एमालेका नेतृत्वमा गठन भएका मन्त्रीमन्डलमा मन्त्रीसन्त्री भइसकेकी हुन् । ‘यतिखेर उनको राजदूतको जागिर देउवाले ओलीलाई राजखानीमा तेल लगाउने शैलीमा टिकेको छ’ भन्छन् पुराना कांग्रेसका कार्यकर्ताहरू ।

हुन त नेपालजस्तो देशका राजदूतहरूको विदेशमा खासै केही कामै हुँदैन । ‘काम न दाम सित्तैमा माम’ भनेझैँ त्यो उनीहरूको कार्यशैली र देशको अवस्थाले देखाउँछ । कतिपय नेपाली राजदूतहरूको पद सरकारका आसेपासे, चौवन्नी सदस्यहरू, बद्नाम भएका कतिपय शक्तिकेन्द्रका डन प्रवृत्तिका मान्छेहरू र पद खरिद गर्ने साहूहरू नै राजदूत बनेका साथै बद्नाम भएका देखिन्छन् । अझ कतिपयले त राजदूतको पावरको गलत इस्तेमाल गरी पैसा खाएर विदेशमा मानिस लैजाने धन्दा गरेका हुन्छन् । केही समयअघि अष्ट्रेलियाकी शेर्पा थरकी राजदूतलाई सरकारले उनको हर्कत अति भएपछि पदबाट फिर्ता बोलायो ।

एकजना चिनेका राजदूत थिए । यो निम्छरो लेखकले राजजूतको कामका बारेमा जिज्ञासा राख्दा ‘रक्सी खानेले ब्ल्याक र रेड लेभलमा आफूलाई डुबायो । कुर्सी पाद्यो बस्यो । सकिन्छ भने सालीपट्टिको सात र भेनाजु पट्टिका नौ पुस्ता सपार्ने गरी घुस खायो’ भन्थे । देशसेश भाँडमा जाओस्, बाल मतलब । आफू जहिल्यै नाफामा रहने कोसिसमा लाग्यो । राजदूतको हुती त यसपालि कोरोना कहरमै देखिहालियो । जनताले दुःख पाउँदा मरेको बाख्रोलाई जुम्राले छोडेजस्तो गरी बीचैमा छाड्ने । एकदुई महिना त चुँसम्म कोही बोलेनन् पाजीहरू !

कांग्रेस यतिखेर सिँगाने लागेको बाख्रोझैँ भएको छ । न कराउन सक्छ । न फस्टाउन सक्छ । त्यसैले भीमसिने बोकाको बाख्राको खोरमा उपध्रो बढेको हो । हुन त छिमेकीको ‘मोदी’ नामको सेतो बोको पनि हामी निम्छरा नेपालीलाई पाठी देखेर निकै अघिदेखि ‘ठाउँ न ठहर बूढीको रहर’ भनेझैँ ‘उतुतु’ गरेर जिस्क्याउँदै छ । जनता कसरी त्यो बोकाको सिँङ भाँच्ने भनेर दाउ पर्खिबसेका छन् । सुतेको सिंह हुन् जनता । अहिले जनताले केही गर्न सक्ने अवस्था छैन । जब जनताको रिसको पारो एक्कासी माथि चढ्छ अनि ‘मोदी’ नामको सेतो बोको पनि दाम्लो–साम्लो चँुडाएर भाग्छ, पाखैपाखा !

कारण नं. २.

कोरोना कहरमा बिरामी नेपालीहरूको स्वास्थ्यमाथि चरम लापवार्ही गर्दै स्टेशनरी सामान सप्लायर्स कम्पनीका रुपमा काम गर्ने ओम्नी ग्रुपलाई स्वास्थ्यका सामग्री आयात गर्नका लागि इजाजत दिने रोगी मानसिकताका मन्त्री भानुभक्त ढकाल प्रकारान्तरले रामकै नाम बद्नाम गर्ने ओली सरकारका अर्का हुनुमान हुन् । जसको एउटा विद्यार्थी संघठनका अध्यक्षको जति पनि बुद्धि रहेनछ । यो कुरा जनताले थाहा पाएका छन् । कोरोनालाई कम आँक्दै जनताको जिउधनमाथि चरम लापरवाही गरी तात्कालीन रोगी मन्त्रालयका सचिव यादव कोइराला, रोगी सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ र रोगी मन्त्रालयकै कुसल्लाहकार डा. खेम कार्कीजस्ता पानी आन्दे्रहरूले कोरोना महामारीलाई अन्डर इष्टमेट गर्दै जनताको स्वास्थ्यमाथि चरम खेलवाड गर्ने कुकाम गरे । त्यो जघन्य अपराधका रुपमा जनमनमा दर्ज भएको छ । ऐनमौकामा नेपाली जनताले सो कुराको फैसला राम्रैगरी गर्नेछन् । भनिन्छ नि ‘पाँच वर्षमा सबैको पालो आउँछ ।’

देशलाई अनिर्णयको बन्दी बनाएर दुई–चारजना संक्रामक हुँदै जनतालाई आतङ्कित बनाउँदै गरिएको बन्दाबन्दीले हरेक क्षेत्रको ढाड भाँच्ने काम गर्‍यो । जनतालाई घरभित्र हुलेर बेला न कुबेला अध्यादेश ल्याएर देशै हसाउँने विदुषक शैलीका विनोदप्रिय प्रधानमन्त्री अनि जसोजसो प्रधानमन्त्री उसैउसै राष्ट्रपतिको ताल देख्दा साउनमा आउने गाईजात्रा वैशाखमै आएको महसुस भयो ।

कारण नं. ३.

कोरोना नियन्त्रणका लागि संघीय सरकारद्वारा केन्द्रीयस्तरमा गठन भएको सीसीएमसीले गरेका निर्णयहरू बेला न कुबेला कुचर्चित भए । हजार र लाख हातमा खेलाएका स्वास्थ्य मन्त्रीलाई करोडका नोटका बिटा हातमा हालिदिएर मख्ख पारी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलका कुपुत्रद्वयले जनताको रगतमा ‘ट्याङ’ हालेर खाने सर्वत खाने असफल प्रयास गरेथे त्यसले नेकपाले विगत्मा गरिब र निमुखा जनताका लागि दुहाई दिएको सबै योगदानमाथि पानी फ्याँकेको थियो । कसैलाई भ्रम नहोस् कि यो सरकार गरिबी र असक्षमतालाई आफ्नो नीति तथा कार्यक्रमका साथ हटाउने सरकार होइन सके यसले गरिब र असक्षमलाई नै हटाउने प्रयास गर्छ । हुन पनि गरिब नै नरहेपछि गरिबीको टण्टै साफ । नरहे बाँस नबजे बाँसुरी । कि कसो ?

हजारौंहजार किलोमिटर खाली खुट्टाले हिँडेर घर पुग्ने प्रयासमा भोकभोकै मरेका वीरेन्द्र गुरमैता यादव, कामको खोजीमा राजधानीको मुटुमा नाम्लो बोकेर हिँड्दाहिँड्दै भ्वाक्क लडेर मर्ने सूर्यबहादुर तामाङ र भोकले घरमै तड्पिएर मर्ने मलर सदाजस्ता नेपालीहरूलाई माक्र्स, लेनिन र माओको नामलाई आफ्नो गायत्रीमन्त्र मान्नेहरूको बहुमत भएकाहरूको सरकारले सम्बोधन गर्न नचाहनु ‘कम्प्युनिष्टहरूको भनिने एकथोक र गरिने अर्कोथोक’ दोगला चरित्रको पर्दाफास हो ।

कारण नं. ४.

कोरोना कहरकै बीच सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्यायो । बजेट हेर्दा विगत् वर्षहरूको जस्तै सामान्य समयमा आएको भान भयो । जबकि यो बजेट आउँदा नेपालभित्र नेपालीहरू काम र माम छाडेर हाँपझाँप गर्दै घर फिरेको समय थियो । जनताका हातमा नयाँ काम त थिएनन् नै भएका कामहरू समेत खोसिएको अवस्था थियो तर हाम्रा डाक्टर अर्थमन्त्रीले सामान्य समयमा ल्याएझैँ ल्याएको बजेटले जनतामा झन् निराशा छर्ने काम गर्‍यो । छिमेकी भारतको सरकारले त्यहाँका जनताका बैँक खातामा महिनाको पाँचदेखि दस हजारसम्म राहतका नाममा पैसा हालेर गरेको जस्तो कार्य हाम्रो सरकारले नक्कलमा गर्न जानेन ।

यो बेलासम्म नढाँटी भन्ने हो भने ‘निम्न र मध्यम वर्गीय जनताका पेटमा मरिजाऊँ एक सुको पनि सरकारका तर्फबाट राहत पुग्न सकेन । फोस्रो मुखको बासी समवेदनाले कसैको पेट भर्दैन । नेपालका नेताले त अझ जनतालाई पिर परेको बेला समवेदना दिन पनि जानेका छैनन् । त्यसै भन्छन् त बूढापाकाहरू कुराले च्युरा भिज्ने भए गोरस किन चाहियो ?

विश्वले एकसाथ गाली गर्ने देश अमेरिका र त्यहाँका कुशासक डोनाल्ड ट्रमले समेत आफ्ना जनतालाई कामबाट विमुख हुँदा साप्ताहिक रुपले पारिवारिक रुपमा १२ सय डलरसम्म क्षतिपूर्ति दिए । मानिसले मुखले चेपारे पार्ने होइन कि परेका बेला सहयोग गर्ने हो । ‘मुखलाई मुख छैन पिँधलाई घिउ’ भनेझैँ कुराले चेपारे घस्ने शासक अब कसैका प्रिय हुन सक्दैनन् ।

कारण नं. ५.

ओली बाबैका थुतुनोबाट निस्केका उखान र कलबिख कुराहरूले जनता झन्झन् तर्सिएका छन् । कोरोनालाई बोसीय र फ्याटीय तत्व मिसिएको वस्तु भन्दै यसले समभाव राखी सबैलाई हानि गर्ने गीताको सन्देश सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई धमासपूर्वक उनले बाँडेका थिए । ती सातै प्रदेशका मुख्यमन्त्रीले बाबैका धतुरेकुरा ट्वाँ परेर सुन्नुसिवाय केही विकल्प थिएनन् । बोलौं कोरोना कहरबीचै बूढाले जागिर चट् पारिदिने । नबोलौं सुनाउन नहुने कुरा बूढा मच्चीमच्ची सुनाउँछन् ।

हुन त उनले ‘विपक्षीलाई ढाड खुस्काउने गरी छेड हान्ने र पेच पार्ने उखान–टुक्का’ विषयमा पीएचडी गरेका हुन् । देश र जनताको हितमा खुरुखुरु काम गर्ने हो भने यिनलाई संसारको कुनै तागतले पनि छेक्न सक्ने थिएन । यिनले आफ्ना गल्तीलाई ढाकछोप गर्ने काम आफैँ गरे । मुखले एकथोक र कामले अर्कोथोक गर्ने नेतालाई नेपाली जनताले अब राम्ररी चिनिसके । आफ्नो कुकार्यको बचाउ गर्नु यिनको राजनीतिक बाध्यता हो । केहीदिन अघि गोकुल बाँस्कोटाको बचाउ गर्दै थिए भोलिपल्टै बाँस्कोटा ७० करोडको डिलमा फँसे । सातो गति बाबैको त्यतिबेला पनि । ‘पानीमा पादेजस्ता कुरा त यी बाबैले यो गएको संसद अधिवेशनमा कति गरे कति गरे ।’ पार्टीकै जम्ल्याहा अध्यक्षले यिनलाई टिकी खान दिएनन् । अनेक भाउँताहरू तेस्र्याएर असफल बनाउन प्रचण्डले गरेका तिकड्महरूको फेहरिस्त बन्न सक्छ । अझै पनि यी दुई कुकुर र बिरालाझैँ ङ्याउङ्याउ गरिरहेका छन् ।

भर्खरै सम्पन्न २०७ औं भानु जयन्ती कार्यक्रममा फेरि बाबैले सर्वज्ञको पगरी गुत्दै धर्मशास्त्र र साहित्यले समेत स्वीकारेर धार्मिक इतिहास बनिसकेको सन्दर्भमा विवादास्पद बोलेर धार्मिक र राजनीतिक पानी धमिल्याउने काम गरे । उनले भने, ‘राम अयोध्यामा जन्मिएका होइनन् बरु तिनी ठोरीमा जन्मेका हुन् । बाबैले यति भन्नु के थियो सामाजिक सञ्जाल सुकेको सुकेको खरमा आगो लागेझैँ ह्वारह्वारर्ती हुन थालिहाल्यो । प्रतिउत्तरमा जनजनले लेख्न थाल्यो, ‘त्यसो भए सीताको जन्म काठमाडौँको सीतापाइलामा र हनुमानको जन्म सप्तरीको हनुमाननगरमा भएको हो । अनि रावणको राज्य श्रीलंकाचाहिँ सुनसरीको प्रकाशपुरनेरको श्रीलंका टप्पु हो ।’

बूढाले व्यक्तिका हैसियतले बोलेका भए पनि उनी संस्था भैसकेका छन् । उनले संस्थाको हैसियतले बोल्नका लागि उनका राजनीतिक र प्रेस सल्लाहकारहरूले दिएको र सुझाएको मात्र बोल्नु पर्छ । कि त अब उनले लिखित मात्र बोल्नु पर्‍यो । होइन भने बोल्नै भएन । मुखले बोलेको त दिमागले विचारेर मात्र बोल्नु पर्छ । नत्र मुखले बोलेको कुन पिँधले बोलेको कुन छुट्याउन गाह्रो पर्छ । यी कुराहरू विश्लेषण गर्दासम्म जनकपुरमा महन्थहरूले विरोध जुलुस निकालिसकेका कुरा समाचारमा आएका छन् । भारतीय जनता पार्टीका विभिन्न हाँचका नेताहरूले ओलीको अभिव्यक्तिको विरोध गर्न सुरु गरिसकेका छन् ।

स्थापित मूल्य मान्यताहरूलाई भत्काउन खोज्नु भनेको आकाशतिर फर्केर थुक्नु हो । जति जोडले थुके पनि आखिर थुकका छिटा आफ्नै मुखमा पर्छन् । के सोचेर बाबैले बोले अब सपार्नका लागि हम्मेहम्मे परिरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले त ‘प्रम ओलीको बोली राजनीतिक अभिव्यक्ति होइन’ भनेर भनिसकेको छ । त्यत्रो ठूलो पदमा बसेको मानिसले पनि ‘प्याच्च प्याच्च’ शैलीमा विवादास्पद कुरा भन्दै जाने र मन्त्रालयहरूले सच्याउँदै जाने हो भने एक दिन देशमा ‘छुद्र बोली मन्त्रालय’ नखोली सुख हुँदैन । कि कसो ?

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ