Rumpum Advertisement
Dazzu

‘कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग नगर्नू’

‘कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग नगर्नू’

विराटनगर, ५ मंसिर । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारमा रेम्डेसिभरको प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आग्रह गरेको छ ।

अस्पतालमा भर्ना भएका गम्भीर प्रकृतिका बिरामीहरूलाई रेम्डेसिभिर नामक औषधि प्रयोग हुँदैआएको थियो । तर बिहीबारबाट डब्ल्युएचओले प्रयोग नगर्न सुझाव दिएको हो ।

बिहिबार ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार हालसम्म कोभिड १९ संक्रमितको उपचारक्रममा प्रयोग गरिएको रेम्डेसिभिरको प्रभाव सकारात्मक देखिएको छैन ।

अमेरिकामा संक्रमणको प्रारम्भिक चरणमा उपचारको लागि प्रयोग गरिएता पनि जटिल अवस्थामा पुगेका बिरामीहरूको अवस्थामा अपेक्षित सुधार ल्याउन सकेको थिएन । त्यसपश्चात आकस्मिक प्रयोगका लागि विभिन्न देशहरूले उपचारमा यस एन्टिभाइरल औषधिलाई प्रयोगमा ल्याउँदै गरेका थिए ।

डब्ल्युएचओले अमेरिकी खाद्य तथा औषधि प्रशासनले कोरोना भाइरस संक्रमणको उपचारको लागि रेम्डेसिभिर स्वीकृत घोषणा गरेको एक महिनापछि प्रयोग नगर्न सुझाव दिएको हो ।

अमेरिकी खाद्य तथा औषधि प्रशासनले कोभिड-१९ को संक्रमण पुष्टि भएमा रेम्डेसिभिर र रुमेटोइड आरर्थिस्टिस् औषधिको संयोजनसहित उपचारको लागि स्वीकृति दिएको छ ।

डब्ल्युएचओको निर्देशिकामा संलग्न नभएका जोन्स हप्किन्स सेन्टर फर हेल्थ सिक्योरिटिका विज्ञ अमेश अडल्जाले भने, ‘रेम्डेसिभिरले अमेरिकी खाद्य औषधि प्रशासनबाट स्वीकृति प्राप्त गर्न सक्यो तर प्रारम्भिक अनुसन्धान भइरहेकाले डब्ल्युएचओबाट अनुमोदन हुन सकेका छैन । सुरुआती अनुसन्धानले कोभिड १९ को उपचारमा केही फाइदाहरू पनि देखाएको छ, तर जसरी अरु तथ्यांकहरू आउँदैछ त्यसमा केही परिवर्तनहरू देखापर्न सक्छन् ।’

रेम्डेसिभिरले केही हदसम्म काम गरेपनि पूर्ण प्रभावकारी भने नभएको बताइएको छ । डब्ल्युएचओले २४ विशेषज्ञ र कोभिड १९ संक्रमणबाट बाँचेका ४ जना व्यक्तिसहित एउटा अन्तर्राष्ट्रिय समूहको बैठक आह्वान गरेको थियो ।

रेम्डेसिभिरको प्रभावकारिताबारे सटिक मूल्यांकन गर्नका लागि कोभिड १९ बाट संक्रमित ७३३३ मानिसहरूको बीचमा क्रमरहित परीक्षण गरियो ।

अधिकांश बिरामीले कम सकारात्मक परिणाम ल्याएको बताए । अध्ययनपछि रेम्डेसिभिर अपेक्षित परिणाम नल्याउने भन्दै प्रयोग नगर्न सुझाव दिएको हो ।

रेम्डेसिभरको प्रयोग हुन थालेपछि नेपालमा यसको कालोबजारी भइरहेको छ । एउटै औषधिको १३ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।