Rumpum Advertisement
Dazzu

घटेन धान–चामलको आयात, विराटनगर हुँदै तीन महिनामा एक अर्ब सात करोड बढीको आयात

घटेन धान–चामलको आयात, विराटनगर हुँदै तीन महिनामा एक अर्ब सात करोड बढीको आयात

यज्ञ अधिकारी

विराटनगर, ५ मंसिर । किसानले धानको मूल्य नपाइरहेको र उत्पादन बढ्ने अनुमान भइरहँदा नेपालमा धान-चामल भित्रनेक्रम भने रोकिएको छैन । पछिल्ला तीन महिनामा एक अर्ब सात करोडभन्दा बढीको धान-चामल भारतबाट आयात भएको छ ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले तोकेको मूल्यमा धान खरिद गर्न सहकारीले अटेर गरिरहेका छन् ।

प्रदेश १ मा करिब २ लाख मेट्रिक टन धानको उत्पादन बढ्ने अनुमान गरिएको छ । तर चालु आर्थिक वर्षको ३ महिनामा मात्र विराटनगर भन्सारबाट ७३ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ५६ हजार केजी चामल आयात भएको छ ।

सोही अवधिमा ३४ करोड ९ लाख ३८ हजार बराबरको १ करोड २० लाख १३ हजार केजी धान आयात भएको छ । २० कात्तिकसम्ममा मात्र १४ लाखको चामल र २५ लाखको धान आयात भएको छ ।

नेपालमा किसानले उत्पादन गरेको धानको मूल्य नपाइरहेको अवस्थामा बाहिरबाट भने करोडौँ मूल्यको धान आयात भइरहेको हो । आर्थिक वर्ष २०७५-०७६ मा १ अर्ब ६५ करोड ६ लाख ९३ हजारको ४ करोड ४१ लाख ८ हजार केजी चामल विराटनगर भन्सारबाट भित्रिएको छ ।

त्यसै आर्थिक वर्षमा १ अर्व ४५ करोड ९७ लाख ९५ हजार रुपैयाँको ४ करोड ९६ लाख ५२ हजार केजी धान आयात भएको छ ।

आर्थिक वर्ष २०७६-०७७ मा विराटनगर भन्सारबाट १ अर्व ३३ करोड ३२ लाख १० हजार रुपैयाँको ३ करोड ८४ लाख ५२ हजार केजि धान आयात भएको छ ।

सोही वर्ष चामाल १ अर्व ३७ करोड ८९ लाख ७६ हजार रुपैयाको ३ करोड ८ लाख ९८ हजार केजी आयात भएको छ ।